सिद्धार्थनगर नगरपालिकाद्वारा बाढी पीडितका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग घोषणा

1.22K
shares

सिद्धार्थनगर, रुपन्देही। भोटेकोशी नदीमा २०८३ साल भदौ १० गते आएको भीषण बाढीका कारण पुगेको अपूरणीय क्षति, जनधनको हानि र सर्वसाधारणले भोग्नुपरेको सास्तीप्रति सिद्धार्थनगर नगरपालिका अत्यन्तै मर्माहत र दुःखी बनेको छ। बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा नगरपालिका परिवारको तर्फबाट हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, बाढीमा घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

यस विषम परिस्थिति र प्राकृतिक विपत्तिको घडीमा प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत, उद्धार तथा पुनर्निर्माणका लागि सिद्धार्थनगर नगरपालिकाले प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ। यो निर्णय सिद्धार्थनगर नगरपालिका नगर कार्यपालिकाको मिति २०८३/०५/११ गतेको बैठकबाट भएको हो, जसको जानकारी सबैलाई गराइएको छ। विपत्तिको यस घडीमा नगरपालिका तथा वडा कार्यालयबाट हुने विभिन्न कार्यक्रम कटौती गर्दै उद्धार तथा राहतमा एकजुटता जनाउन नगरपालिका तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरूबाट आयोजना गरिने हरितालिका तीज लगायतका कार्यक्रमहरू रद्द गरी सो कार्यक्रमका लागि विनियोजित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।

नगरपालिकाले नगरवासीहरूलाई पनि यस वर्षको हरितालिका तीज लगायतका कार्यक्रम नगरी विपद् व्यवस्थापनमा आवश्यक सहयोग गर्नुहुन हार्दिक अपिल गरेको छ। साथै, बाढी प्रभावित क्षेत्रमा परी सम्पर्कविहीन हुनुभएका नगरवासीका घरपरिवारलाई नगरपालिकामा सम्पर्क गर्नुहुन समेत अनुरोध गरिएको छ।

प्रधानमन्त्री दैवी उद्धार प्रकोप कोषमा जम्मा हुने रकमको विवरणअनुसार नगरपालिकाबाट रु. २५ लाख बराबरको रकम, नगर प्रमुख र उपप्रमुखबाट १ महिना बराबरको सेवा सुविधा, वडा अध्यक्षहरूबाट ५ दिन बराबरको सेवा सुविधा, कार्यपालिका सदस्यहरूबाट ३ दिन बराबरको सेवा सुविधा, वडा सदस्यहरूबाट २ दिन बराबरको सेवा सुविधा, अधिकृतस्तरका कर्मचारीहरूबाट ७ दिन बराबरको तलब, सहायकस्तरका कर्मचारीहरूबाट ५ दिन बराबरको तलब र श्रेणीविहीन कर्मचारीहरूबाट २ दिन बराबरको तलब सो कोषमा जम्मा गरिने भएको छ। यो प्रेस विज्ञप्ति मिति २०८३ भदौ ११ गते नगर प्रमुख इश्तियाक अहमद खाँको हस्ताक्षरसहित सार्वजनिक गरिएको हो।


divya collage
unigloble collage