सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न
प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेकाे प्रमुख अतिथ्यतामा सम्पन्न
वि.सं.२०८३ असोज ५ सोमवार १६:४७
shares

काठमाडौं । समुदाय–प्रहरी साझेदारीअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमको आयोजनामा सडक सुरक्षा, ट्राफिक अनुशासन तथा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौं महानगरपालिका–३१, शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसको सभाहलमा प्रहरी वृत्त नयाँबानेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक विकास तथा सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर–३१ र बानेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

बानेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. घमानसिंह खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियाे। कार्यक्रममा प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टको विशेष आतिथ्य रहेको थियो।
त्यसैगरी ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक सुरेन्द्र नेपाली, सामुदायिक विकास तथा सेवा समितिका उपाध्यक्ष उज्जन श्रेष्ठलगायत समितिका पदाधिकारी, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसका सभापति भूमिराज अधिकारी बानेश्वर साहित्यिक मञ्चका अध्यक्ष सुदिप घिमिरे (दिप सुदिप) लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा +2 तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई सडक सुरक्षा, ट्राफिक नियम तथा अनुशासन, सुरक्षित सडक प्रयोग, दुर्घटना न्यूनीकरण र जिम्मेवार सडक व्यवहारका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणका क्रममा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक भिडियो तथा डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको थियो।
विद्यार्थीहरूलाई सडक प्रयोग गर्दा ट्राफिक नियमको पालना गर्ने, पैदलयात्री तथा सवारी चालकका रूपमा जिम्मेवार व्यवहार अपनाउने र सडक दुर्घटना न्यूनीकरणमा आफ्नो भूमिका निर्वाह गर्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।





















