सुनचाँदीको खरिद मूल्यमा एकरूपता कायम गर्न सुनचाँदी कला व्यवसायी संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न

195
shares
काठमाडौं। नेपाल सुनचाँदी कला व्यवसायी संघको आयोजनामा सुनचाँदीका गरगहनाको खरिद मूल्य निर्धारणमा एकरूपता कायम गर्ने विषयमा सुनचाँदी व्यवसायसँग सम्बद्ध तीन महासंघसहित आबद्ध संघहरूबीच छलफल भएको छ । शनिबार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा खरिद मूल्य निर्धारणमा देखिएका समस्या, व्यावसायिक आचारसंहिताको कार्यान्वयन, डिजिटल बोर्डमार्फत मूल्य सार्वजनिक गर्ने व्यवस्था तथा उपभोक्ताको हित संरक्षणका विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाल सुनचाँदी कला व्यवसायी संघका अध्यक्ष बालकुमार विश्वकर्मा (सुमन) ले बजारमा सुनचाँदीको खरिद मूल्य निर्धारणमा फरक अभ्यास देखिएकाले त्यसलाई व्यवस्थित गरी एकरूपता कायम गर्न छलफल आवश्यक रहेको बताए । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनचाँदीको खरिद मूल्यसम्बन्धी फरक अभ्यास देखिएको उल्लेख गर्दै उनले व्यवसायी, आबद्ध संघ तथा महासंघबीच साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनका अनुसार बजारमा सुनचाँदीको खरिद मूल्य निर्धारणमा तीन, चार र पाँच प्रतिशतसम्मका फरक अभ्यास देखिएका छन् । यस्तो अवस्थालाई व्यवस्थित गर्न उपत्यकाभित्रका आबद्ध संघहरूले एकरूपता कायम गर्ने दिशामा पहल गर्नुपर्ने उनले बताए । यसका लागि सम्बन्धित महासंघसँग समन्वय गरी छलफलबाट प्राप्त निष्कर्ष कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।
विश्वकर्माले बहुमूल्य गहनाको उत्पादन तथा कारोबारलाई व्यवस्थित बनाउन तीनवटै महासंघले जारी गरेको व्यावसायिक आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिए । बजारमा देखिएका समस्या समाधान गर्न व्यवसायीहरूबीच नियमित छलफल, समन्वय र सहकार्य आवश्यक रहेको उनले बताए । त्यस्तै, नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी महासंघका प्रथम उपाध्यक्ष द्वारिका शंकरले सुनचाँदीको खरिद मूल्य निर्धारणमा एकरूपता कायम गर्ने विषयमा तीनवटै महासंघबीच छलफल भइरहेको जनाए । विगतमा व्यवसायमा देखिएका विभिन्न समस्याका कारण खरिद मूल्य निर्धारणको प्रक्रिया ढिलाइ भएको उल्लेख गर्दै उनले आगामी दिनमा आपसी छलफल र समन्वयमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाई बज्राचार्यले खरिद मूल्य निर्धारणका विषयमा सरकारसँग पटक–पटक छलफल भएको जानकारी दिए । व्यवसायमा देखिएका विभिन्न चुनौती तथा देशमा आइपरेका विपत्तिका कारण निर्धारित समयमा काम अघि बढाउन नसकिएको उनको भनाइ थियो । महासंघहरूबीच छलफल भइरहे पनि सरकारी प्रतिनिधिहरूसँग समय मिलाउन नसक्दा प्रक्रिया ढिलाइ भएको उनले बताए ।
बज्राचार्यले सुनचाँदी व्यवसायमा धितो कारोबार गर्दा देखिने विवाद समाधानका लागि प्रहरी प्रशासनसँग समन्वय र सहकार्य प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए । धितोमा राखिएको सुनको मूल्य तथा फिर्तासम्बन्धी विवादले व्यवसायी र उपभोक्ताबीच समस्या उत्पन्न हुन सक्ने भएकाले सम्बन्धित संघ तथा स्थानीय पदाधिकारीहरूले सहजीकरण गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष एवं अध्यक्ष फोरमका संयोजक खेम तिरुवाले काठमाडौं, ललितपुर र भक्तपुरमा सुनचाँदीको खरिद मूल्यसम्बन्धी विवरण डिजिटल बोर्डमा स्पष्ट रूपमा देखाउने कार्यलाई थप व्यवस्थित गर्नुपर्ने बताए । केही जिल्लाका सुनचाँदी व्यवसायसँग सम्बद्ध संघहरूले डिजिटल बोर्डमार्फत खरिद मूल्य सार्वजनिक गर्न थालेको उल्लेख गर्दै उनले बाँकी संघहरूलाई पनि उक्त अभ्यास कार्यान्वयन गर्न आग्रह गरे । यस विषयमा देखिन सक्ने कानुनी पक्षबारे समेत आवश्यक छलफल गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
तिरुवाले सामाजिक सञ्जालमार्फत हुने सुनचाँदीका गहनाको कारोबार तथा विज्ञापनलाई व्यवस्थित बनाउनुपर्नेमा समेत जोड दिए । उपभोक्तालाई भ्रममा पार्ने गतिविधि नियन्त्रण गर्न व्यवसायी, आबद्ध संघ तथा महासंघका पदाधिकारीहरू पनि जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सुनका गहनाको कारोबारसँगै चाँदीका भाँडाकुँडा, मूर्तिलगायतका सामग्रीको व्यापारमा देखिएका समस्या तथा व्यवसायीले अपनाउनुपर्ने सावधानीका विषयमा समेत छलफल गरिएको थियो । सुनचाँदी व्यवसायलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन व्यवसायी तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।

कार्यक्रममा महासंघका पदाधिकारी, सल्लाहकार, कानुनी सल्लाहकार तथा काठमाडौं उपत्यकाभित्रका विभिन्न आबद्ध संघका अध्यक्ष र प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव प्रेम लकान्द्रीले गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083