चाडपर्व लक्षित दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न
गगनगौँडामा ट्राफिक प्रहरीलाई दुर्घटना न्यूनीकरण र यात्रुमैत्री सेवा प्रवाहमा जोड
वि.सं.२०८३ असोज २९ बिहीवार ११:४०
shares

गगनगौँडा, कास्की। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा, कास्कीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेको उपस्थितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की तथा मातहतका सम्पूर्ण ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी कर्मचारीहरूलाई दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापनसम्बन्धी निर्देशन दिइएको छ।
आसन्न बडादसैँ, तिहार तथा छठ पर्वलाई सुरक्षित, मर्यादित र दुर्घटनारहित बनाउन ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी उपरीक्षक काफ्लेले सम्भावित सवारी दुर्घटना न्यूनीकरण, जनधनको क्षति रोकथाम तथा लामो दूरी र स्थानीय यात्रुहरूको सहज, सुरक्षित एवं व्यवस्थित यात्राका लागि विशेष ध्यान दिन निर्देशन दिनुभयो।

उहाँले चाडपर्वका समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन (मापसे) तथा लागू पदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउनेजस्ता ट्राफिक नियमविपरीतका गतिविधिमाथि कडाइका साथ निगरानी बढाउन र आवश्यक कारबाही गर्न निर्देशन दिनुभयो।
त्यसैगरी, ट्राफिक प्रहरी कर्मचारीहरूलाई उच्च मनोबल, कर्तव्यनिष्ठा र जिम्मेवारीबोधका साथ कार्यक्षेत्रमा खटिन आग्रह गर्दै नागरिकसँग मैत्रीपूर्ण बोली, शिष्ट व्यवहार र सेवामुखी कार्यशैली अपनाउन निर्देशन दिनुभयो। साथै, मातहतका ट्राफिक पोस्ट प्रमुखहरूलाई यात्रुमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र निगरानी गर्नसमेत सचेत गराउनुभयो।
चाडपर्वका समयमा सवारीसाधन तथा यात्रुको चाप बढ्ने भएकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र यात्रुमैत्री सेवा प्रवाहमार्फत सम्भावित दुर्घटना न्यूनीकरण गरी नागरिकको यात्रा सुरक्षित र सहज बनाउने उद्देश्यले उक्त निर्देशन कार्यक्रम सम्पन्न भएको हो।
























