विपद्को असर न्यूनीकरण गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा सबै पक्षसँग अभूतपूर्व सहकार्यको अपिल

520
shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वर्षा, सम्भावित हावाहुरी तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम न्यूनीकरणका लागि आम नागरिक, सञ्चारकर्मी तथा सरोकारवाला सबैसँग सहकार्यको अपिल गरेका छन्।

‘विपद्को असर कम गर्न अभूतपूर्व सहकार्य गरौँ !’ भन्ने सन्देशसहित आईजीपी कार्कीले जनधनको सुरक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै विपद् व्यवस्थापनमा सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
उनले नेपाल प्रहरी सधैँझैँ नागरिकको जीवन रक्षा, जनधनको सुरक्षा तथा सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आफ्नो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

विशेषगरी विपद्को संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङका लागि सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
सञ्चारकर्मीहरूले सूचना संकलन तथा समाचार सम्प्रेषण गर्ने क्रममा कुनै पनि प्रकारको बाधा अवरोध सामना गर्न नपरोस् भन्नेमा नेपाल प्रहरी दृढ प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारेका छन्।
आईजीपी कार्कीले विपद्को समयमा प्रहरी, सञ्चारमाध्यम, नागरिक समाज र आम नागरिकबीचको प्रभावकारी समन्वय तथा सहकार्यले सम्भावित जोखिम र क्षति न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सन्देश दिएका छन्।
उनको अपिलको मूल सन्देश छ—विपद् व्यवस्थापन प्रहरीको मात्रै जिम्मेवारी होइन, नागरिकसहित सबै पक्षको साझा दायित्व हो। सहकार्य, समन्वय र सही सूचनामार्फत जनधनको सुरक्षा गरौँ।