नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षकमा डा. मनोजकुमार केसी नियुक्त

455
shares

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक (IGP) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार (२०८३ कात्तिक १८ गते) बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको सर्वोच्च नेतृत्व प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रहेका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गर्दै सरकारले प्रहरी संगठनको नेतृत्व केसीलाई सुम्पिएको हो।

प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत केसीले अब नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्।

प्रहरी सेवामा लामो अनुभव हासिल गरेका केसी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका कारण चर्चामा आएका थिए। उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका महत्वपूर्ण निकायको नेतृत्वसमेत गरिसकेका छन्।
कम्बोडियाबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि (पीएचडी) गरेका केसीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा समेत काम गरिसकेका छन्।
सरकारको निर्णयसँगै उनी नेपाल प्रहरीको ३४औँ प्रहरी महानिरीक्षक बनेका छन्।