कांग्रेसमा फेरि राजनीतिक हलचल : नेविसंघका पुर्ब कार्यवाहक अध्यक्ष सञ्जिव खड्काद्वारा सभापति गगन थापाको राजीनामा माग
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १४:००
shares

काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकता विवाद र इनाम सापकोटाको बयानलाई लिएर राजनीतिक बहस चर्किएको छ। यसैबीच नेपाल विद्यार्थी संघका पुर्ब कार्यवाहक अध्यक्ष सञ्जिव खड्काले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको राजीनामा माग गर्दै निष्पक्ष अनुसन्धान र जवाफदेहिताको प्रश्न उठाएका छन्।
खड्काले इनाम सापकोटाको बयानपछि सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विवरण, कांग्रेसको आधिकारिकता विवाद तथा नेतृत्वसँग जोडिएका आर्थिक लेनदेनसम्बन्धी आरोपको सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताएका छन्।
उनले परिवर्तनको दाबी गर्ने नेपाली कांग्रेसभित्र नैतिकता र जवाफदेहिताको विषयमा समेत प्रश्न उठाउँदै पार्टी कुनै व्यक्तिको निजी सम्पत्ति नभई लाखौँ कार्यकर्ता र लोकतन्त्रप्रति आस्था राख्ने नागरिकको साझा संस्था भएको बताएका छन्।
खड्काले आफ्नो धारणामार्फत पार्टी कब्जाभन्दा पार्टीको शुद्धीकरण, आरोपभन्दा सत्य र मौनताभन्दा जवाफदेहिता आवश्यक रहेको बताएका छन्। उनले भनेका छन्, ‘आरोप होइन, सत्य चाहिन्छ। मौनता होइन, जवाफदेहिता चाहिन्छ। सत्यको पक्षमा उभिनु नैतिकता हो, दोषीलाई संरक्षण गर्नु राजनीतिक अपराध हो।’
इनाम सापकोटाको बयानमा कांग्रेसको आधिकारिकता विवादसँग जोडेर आर्थिक कारोबार भएको दाबी सार्वजनिक भए पनि त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ। सभापति गगन थापाले भने इनाम सापकोटा र बिचौलियासँग आफ्नो चिनजान नरहेको तथा आफूले कुनै रकम नदिएको दाबी गरेका छन्।
यस प्रकरणले नेपाली कांग्रेसभित्र मात्र नभई राष्ट्रिय राजनीतिक वृत्तमा समेत बहस सिर्जना गरेको छ। अब सम्बन्धित निकायले सार्वजनिक भएका आरोपको निष्पक्ष छानबिन गरी तथ्य र प्रमाणका आधारमा सत्यतथ्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

















