काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा, स्वरूप परिवर्तन गरिएका ४०१ मोटरसाइकलमाथि कारबाही
वि.सं.२०८३ मंसिर १ मंगलवार १४:१३
shares

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि ट्राफिक प्रहरीले कारबाही अभियानलाई तीव्रता दिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत नियमविपरीत साइलेन्सर तथा अन्य संरचनामा परिवर्तन गरी ध्वनि प्रदूषण फैलाउने ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेको निर्देशनमा सञ्चालन भइरहेको अभियानलाई थप प्रभावकारी बनाइएको हो।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। सम्बन्धित मोटरसाइकललाई कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काएपछि आवश्यक प्रक्रिया पूरा गरी धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ।
सवारी साधनमा अनधिकृत रूपमा परिवर्तन गरी अत्यधिक आवाज निकाल्दा ध्वनि प्रदूषण बढ्नुका साथै सर्वसाधारणको स्वास्थ्य, शान्ति र दैनिक जनजीवनमा समेत नकारात्मक असर पर्ने भएकाले यस्तो कार्य नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले सवारी धनी तथा चालकलाई कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार सवारी साधन सञ्चालन गर्न र गैरकानुनी रूपमा स्वरूप परिवर्तन नगर्न अनुरोध गर्नुभएको छ।
सडक अनुशासन कायम राख्ने, ध्वनि प्रदूषण नियन्त्रण गर्ने तथा सर्वसाधारणलाई सुरक्षित र सहज यातायात वातावरण उपलब्ध गराउने उद्देश्यले ट्राफिक प्रहरीले अभियानलाई निरन्तरता दिने जनाएको छ।
नियमविपरीत सवारी साधन मोडिफाइ गरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिविरुद्ध ट्राफिक प्रहरीको सक्रियता सकारात्मक कदमका रूपमा हेरिएको छ।













