आज तेह्रौँ लोकतन्त्र दिवस देशभर कार्यक्रम गरी मनाइँदै
वि.सं.२०७५ वैशाख ११ मंगलवार १२:०५
shares

लोकतन्त्र दिवस
काठमाडौं। आज तेह्रौँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्ग चित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद विसं २०६३ वैशाख ११ गते फेरी स्थापना गरेका थिए।
संसद विघटन पछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन। निर्वाचन नभए पछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चलेको थियो। राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गएका थिए। विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिए पछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादी बीच १२ बुँदे समझदारी भएको थियो।
वि.सं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो। नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए। आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठक समेत आह्वान गरे। यसैले वैशाख ११ गतेको दिनलाई लोकतन्त्र दिवस भनिन्छ।
पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो। विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचन बाट निर्वाचित सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो। संविधान बमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ। सोअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन्। यो परिवर्तन भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउदै आएको छ।
































