बले बेच्दै दलेहरु …..!

14.4K
shares

प्रजातन्त्रको डिलमा उभिएर,
एकलास मुर्झाईरहन्छन बले काका 
घरि पार्टीको झन्डा हेर्छन, घरि चुनावी घोषणापत्र 
घरि नाङ्गो आङ्ग हेर्छन, घरि नबल्ने चुल्हो 
मतपत्रमा जब एकथान सपना साटियो 
डिलमै बसिरहेछन बले काका 
सदियौं देखि यसरी नै लुटिरहेछन दलेहरुले बले काका !!
तिम्लाई अझै पुगेन दले दाई ?

सपनाहरु त आगो हुन्, 
तिनले छाड्ने छैनन् दलेहरुको डेरा 
नयाँ दिनको भोक मेटाउन,
के तिम्रा झन्डाहरु तयार छन् दले दाई ?
तिम्लाई अझै पुगेन दले दाई ?

हिजो साँझ पिएपछि एक डबका जोस
बले निस्केछन् सडकमा
कराएछन् जोडजोडले,
‘साला के हो यो सपना भनेको ?
यो बिपीको प्रजातन्त्र होइन
पुष्पलालको समाजवाद पनि होइन
यो दलेवाद हो दलेवाद !
होसमा आएपछि दले काका लमतन्न सुतिरहेथे त्यहि कुरुप झन्डामाथि !

बिहान ब्युझँदा टोल छिमेक
प्रजातान्त्रिक डिलमा लडिरहेको थियो बलेको सपना
किचिमिची परेको थियो
वर्षौं भोट हालेको बुढीऔंला पनि

न कुनै मुचुल्का
न कुनै साक्षी
बेवारिस लडिरहेको छ आज
आँगनमा बलेको सपना ! झन्डासंगै !!
सदियौंदेखि दलेहरु बले बेचिरहेछन ! बेचीरहन्छन !!

(दलेहरुको शासन नचाहने एक अनागरिक)