महाकाली नदी मिचेर तटबन्ध बनाउँदै भारत, काम रोक्न प्रशासनको पत्र

7.96K
shares

काठमाडौं । भारतले महाकाली नदीलाई मिचेर तटबन्ध बनाउन थालेको छ। भारतले एकलौटी रूपमा तटबन्ध निर्माण गर्न थालेपछि दार्चुला प्रशासनले गृह मन्त्रालयलाई निर्माण कार्य अविलम्ब रोकिदिनका लागि पत्रसमेत लेखेको छ।

०७० साल असार २ गते महाकाली नदीमा अविरल वर्षापछि आएको बाढीले नेपाल-भारत सीमा नाका वारिपारि रहेको क्षेत्र कटान गरी कतिपय क्षेत्रमा पानीको बहावका कारणले नदी किनारमा रहेको सीमा नाका क्षेत्रको भौगोलिक परिवर्तनसमेत भएको पत्रमा उल्लेख गरेको छ।

महाकाली नगरपालिका ५ गल्फै क्षेत्र भौराबगड, महाकाली नदी किनार रहेको जिल्ला अस्पताल दार्चुलाको सीमापारि भारततर्फ हाल सुरक्षा-चेकवाला बाँध बनिरहेको पत्रमा भनिएको छ।

महाकाली नदीमा बाढीपूर्व साबिक नेपालतर्फकै भूमि क्षेत्रमा हाल त्यहाँ उत्खनन गर्न थालिएको छ। नेपाल पक्षसँग आवश्यक समन्वयबिना बनाउन लागिएको उक्त वाल निर्माण कार्यलाई यथाशीघ्र रोक्नका लागि सम्बन्धित निकायमा पत्र लेखेको हो।

प्रशासन कार्यालयले गृह मन्त्रालय, (सीमा प्रशासन तथा अध्यागमन शाखा), सिंहदरबार काठमाडौं, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा सिंहदरबार काठमाडौं, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, धनगढी कैलालीलाई बोधार्थ गरेर पत्र लेखेको छ।

महाकालीको बाढीले २०७० सालमा खलंगाका एक दर्जन सरकारी कार्यालयसहित एक सय ५६ घर बगाएको थियो। भारतकै धौँलीगांगा बाँधका कारण सात वर्ष पहिले ठूलो धनजनको क्षति व्यहोरेका खलंगावासी महाकाली मिचेर तटबन्ध निर्माण हुन थालेपछि त्रसित बनेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083