सन्दर्भ परराष्ट्रमन्त्रीको भारत भ्रमण : कामचलाउ सरकारले दीर्घकालीन सम्झौता नगर्न खबरदारी

9.62K
shares

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत भ्रमणमा जाँदैछन् । आज र भोली भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली भारत जान लागेका हुन् ।

बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने बताइएको छ । यस्तै, नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, पारवहन, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा समेत छलफल हुनेछ ।

यसैबीच नागरिक समाजका अगुवाहरुले भने परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा राष्ट्रिय सरोकारका गम्भीर मामिलामा समझदारी नगर्न सरकारलाई खबरदारी गरेका छन् ।

नेपाल राष्ट्र बैँकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्वमुख्यसचिवद्धय लिलामणि पौड्याल र डा. सोमलाल सुवेदी, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वसचिव शारदाप्रसाद त्रिताल, युवराज पाण्डे, पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, लेखक निनु चापागाई, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य लगायत १५ जनाले संयुक्त वक्तव्य जारी गर्दै बृहत्तर राष्ट्रिय सहमतिबिना कुनै पनि राष्ट्रिय सरोकारका मामिलामा सहमति जनाउने वा समझदारी गर्ने वा त्यसप्रकारको कुनै पनि दस्तावेजमा हस्ताक्षर गर्नेजस्ता कामकारबाही नगर्नका लागि आग्रह गरेका हुन्।

नयाँ चुनावको घोषणा भएसँगै केपी शर्मा ओली नेतृत्वको सरकार स्वतः काम चलाउ भएको र दीर्घकालीन सरोकारका मुद्दामा भारतसँग समझदारी गर्न नहुने उनीहरूको तर्क छ । संसद विघटनपछि विकसित राजनीतिक तरलताबीच परराष्ट्र मन्त्रीको भारत भ्रमण सम्बन्ध सुधार र कोभिड–१९ सहकार्यका लागि मात्रै हुनु पर्नेमा उनीहरूको जोड छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083