आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचारप्रसार सुरु
वि.सं.२०८२ फागुन ४ सोमवार ०९:५७
shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा चुनावी प्रचार–प्रसार सुरु भएको छ। कानुनी प्रावधानअनुसार मतदान मितिभन्दा १५ दिनअघिबाट मात्र जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन–प्रसारण गर्न पाइने व्यवस्था छ। सोहीअनुसार दल तथा उम्मेदवारहरूले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार अभियान सञ्चालन गर्न सक्नेछन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन राजनीतिक दल, उम्मेदवार र अन्य सरोकारवालाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने आयोगले जनाएको छ। तोकिएको सीमाभित्र रहेर उम्मेदवारहरूले मतदातासमक्ष आफ्ना योजना, प्रतिबद्धता र एजेन्डा प्रस्तुत गर्दै मत माग्न पाउनेछन्।
आचारसंहिता प्रभावकारी कार्यान्वयनका लागि आयोगले विभिन्न अनुगमन संयन्त्र परिचालन गरेको जनाएको छ। उल्लङ्घनका घटनामा सम्बन्धित पक्षसँग स्पष्टीकरण सोधिने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ। दल तथा सरोकारवालासँगको परामर्शपछि आचारसंहिता तयार पारिएको र सबै दलले यसको पालनामा प्रतिबद्धता जनाएको आयोगको भनाइ छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घनप्रति आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको छ। प्रमाण र अवस्थाको मूल्याङ्कनका आधारमा सचेत गराउनेदेखि जरिवाना तथा उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने कानुनी व्यवस्था रहेको उनले बताए।
यस अवधिमा दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचार गर्न सक्नेछन्। आमसभा वा कोणसभा आयोजना गर्दा भएको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था पनि रहेको छ।
निर्वाचनको निष्पक्षतामा असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यममार्फत मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले पुनः स्पष्ट पारेको छ।
















