जेन्जी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस: कार्की
वि.सं.२०८२ फागुन २४ आइतवार १६:४८
shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगले आन्दोलन दमनमा संलग्न सबैलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
घटनासम्बन्धी जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्रीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ २३ गते युवामाथि गोली चलाउन आदेश दिने र गोली चलिरहेको अवस्थामा रोक्न नसक्ने सबै जिम्मेवार व्यक्तिलाई कारबाही गर्न सिफारिस गरिएको बताए।
उनका अनुसार भदौ २४ गते भएको घटनामा पनि दोषी देखिएका व्यक्तिहरूमाथि कारबाही गर्न प्रतिवेदनमार्फत सिफारिस गरिएको छ। आन्दोलनका क्रममा भएको घटनाबारे आयोगले विस्तृत अनुसन्धान गरी प्रतिवेदन तयार पारेको उनले जानकारी दिए।
कार्कीले आयोगले आफ्नो जिम्मेवारी पूरा गर्दै प्रतिवेदन सरकारलाई बुझाइसकेको भन्दै अब त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको बताए। उनले देश, जनता र आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको न्यायका लागि आयोगले निष्पक्ष रूपमा काम गरेको दाबी गरे।
केही काम बाँकी रहेको र निर्वाचन प्रक्रियामा असर पर्न सक्ने अवस्था देखिएकाले प्रतिवेदन निर्वाचनपछि मात्रै सरकारलाई बुझाइएको उनले स्पष्ट पारे।
कार्कीले आयोगको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही नगरेमा पुनः आन्दोलन चर्किन सक्ने सम्भावनाबारे सरकारलाई सचेत गराइएको पनि बताए।

















