नक्कली रिभल्भर देखाएर रकम असुल्ने राकेश राणा पक्राउ

494
shares

९ साउन, भैरहवा। रुपन्देही प्रहरीले आफूलाई जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई डर–त्रास देखाई रकम असुल्ने एक व्यक्तिलाई नक्कली हतियार र लागूऔषध (गाँजा) सहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा डेरा गरी बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार राणाले भैरहवा बजार क्षेत्रमा आफू जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै नक्कली पेस्तोल देखाएर व्यापारी तथा सर्वसाधारणलाई धम्क्याई रकम असुलिरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि विशेष प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले सिद्धार्थनगर–१३ शान्तिनगरबाट राणालाई नियन्त्रणमा लिएपछि उनको डेरामा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा एक थान नक्कली रिभल्भर, एक थान सवारी चालक अनुमति पत्र तथा करिब ५०० ग्राम गाँजा बरामद गरेको जनाएको छ। यस्तै, उनको साथबाट भिभो कम्पनीको एक थान एन्ड्रोइड मोबाइल फोन र नगद २ हजार ६ सय रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार प्रहरीको परिचय दुरुपयोग गरी सर्वसाधारणलाई धम्क्याउने तथा लागूऔषध कारोबारजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कानुनी कारबाही गरिनेछ।

प्रहरीले पक्राउ परेका राणाविरुद्ध सम्बन्धित कसुरमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।


divya collage
unigloble collage