मंगलबारदेखि भागेका डिएसपी राउत सम्पर्कमा

6.6K
shares

काठमाण्डौँ । गृह सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन समिति समक्ष बयान दिँदादिँदै मंगलबार भागेका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन् ।

समितिले तथ्य केलाउन प्रयास गर्दा दोषी ठहर हुने देखिएपछि मंगलबार आत्तिएर भागेका उनी बुधबार समिति सम्पर्कमा आएको स्रोतले जनायो । पक्राउ पुर्जी नदिइ बयान लिइरहेका बेला उनी सोमबार गृहमन्त्रालयबाटै बेपत्ता भएका थिए । त्यस लगत्तै प्रहरीले उनीविरूद्ध पक्राउ सर्कुलर जारी गरेको थियो । सुन तस्करका मतियार डिएसपी गृहमन्त्रालयबाटै भागेको विषय पेचिलो बनेपछि प्रहरी प्रधान कार्यालयले उनलाई पक्राउ गर्न ७७ जिल्लाका प्रहरी इकाईमा सर्कुलर जारी गरेको थियो । बुधबार राती नै पक्राउ परेका उनीसँग बिहीबार बिहान समितिले गृह मन्त्रालयमा बयान लिएको छ । बयान सकिए पछि उनलाइ थप कानुनी कारवाहीका लागि विराटनगर पठाइएको स्रोतले बतायो ।

समितिले अहिलेसम्म पक्राउ गरेका राउत दोस्रो ठूला प्रहरी अधिकारी हुन् । यसअघि एसपी विकासराज खनाल पक्राउ परेका थिए। समितिले दोषी ठहर गरेका एसएसपी श्यामबहादुर खत्री अझै सम्पर्कबिहीन छन् । समितिले प्रहरी प्रधान कार्यालयमार्फत उनलाई उपस्थित गराउन पत्राचार गरे पनि उनी सम्पर्कमा आएका छैनन्। अनुसन्धानमा दोषी देखिएका सई बालकृष्ण सञ्जेल तथा गजेन्द्र रावललाई समितिले मोरङ प्रहरीको जिम्मा लगाइसकेको छ । यो प्रकरणमा फागुन १८ गते पक्राउ परेका तीन जनासहित सबैलाई एकै पटक अदालतमा मुद्दा बुझाउने तयारी समितिले गरेको छ । समितिले मुद्दा बुझाउने हदम्याद वैशाख २० गतेसम्म छ । बुधबार मोरङ प्रहरीले अदालतबाट २३ जनालाई अनुसन्धान गर्न ८ दिनको म्याद थप गरेको थियो ।