डीआइजी र एसपीका घुमुवाको असुली आतंक : पिकनिक मै हात हालाहाल

गण्डकी प्रदेशका डीआईजी घनश्याम अर्यालले मातहतका जिल्ला र इलाका प्रहरी कार्यालयहरुका कामकारकारबाहीमा पनि चासो राख्ने गरेका छन् । पोखरामा हुने लेनदेन, बाउन्स चेक, जुवा र ढुकुटी जस्ता उजुरीमा उनले विशेष चासो राख्दैआएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र पोखराको बैदाम वडा प्रहरी कार्यालयमा बढी ढुकुटी खेल्ने र जुवा अखाडा संचालन हुने गरेका छन् । प्रहरीकै संरक्षणमा त्यहाँ जुवा अखाडा संचालन हुने गरेका छन् ।

करिब १६ महिना जागिर अवधि रहेका डीआइजी अर्यालले प्रदेशका जिल्लाहरुमा असुलीका लागि घुमुवाको टोली नै राखेका छन् । गएको असार अन्तिममा गण्डकीमा सरुवा भएका उनी एक बर्षपछि पुनः प्रदेशमा जान नपाउने भएकाले पनि जतिसक्दो कमाउने मौका यही हो भनी घुमुवा परिचालन गरी असुली गर्दैआएका छन् ।

डीआइजी अर्यालको घुमुवा टोलीमा असईहरु बिजय लामा, कमल बस्याल, सुरज रिजालसहित छन् । ४ जनाको यो घुमुवा टोलीले गोर्खा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङका क्रसर ब्यवसायीसँग असुली गर्ने रहेको छ । गुल्मी घर भएका डीआइजी अर्याल एसपी हुँदा कास्कीमा बसेकाले उनलाई त्यस क्षेत्रमा हुने सबै अतिरिक्त आम्दानीका स्रोतबारे पर्याप्त अनुभव छ । उनका घुमुवाहरुले गोरखाको दरौदी नदीमा अवैध रुपमा सञ्चालन भएका ढुंगाखानी तथा क्रसर उद्योगबाट असुली गर्ने गरेका छन् ।

जिल्ला समन्वय समितिले २०७७ मंसिर १४ मा ११ वटै स्थानीय तहलाई दरौंदी नदीमा अवैध रुपमा संचालित ढुंगाखानी तथा क्रसर बन्द गर्न पत्राचार गरेको भए पनि त्यसलाई अटेर गरी ब्यवसायीले स्काभेटर नै प्रयोग गरी नदी उत्खनन् गरिहेका छन् । प्रदेश प्रहरीलाई समेत सेटिङ मिलाएर दरौंदीमा नदी दोहन हुने गरेको छ ।

क्रसर सञ्चालकहरूले दरौंदी खोलाको धार फर्काएर स्काभेटरमार्फत् ढुंगागिट्टी उत्खनन् गरिरहेका छन् । मापदण्ड विपरीतका क्रसर उद्योगलाई प्रहरी प्रशासनदेखि राजनीतिक दलहरुको पनि संरक्षण छ । गोरखामा गोरखकाली क्रसर उद्योगका संचालक सुरेन्द्र कुँवरले मापदण्डविपरीत नदी दोहन गरी ढुंगा गिटी उत्खनन् गर्दैआएका छन् । उनले प्रदेश प्रहरीका घुमुवासँग सेटिङ गर्दै जिल्ला समन्वय समितिको पत्राचारपछि पनि नदीमा स्काभेटर प्रयोग गरी नदीदोहन गर्दैआएका छन् । नदीजन्य पदार्थ निकाल्दा नदी गहिरिएर पानीको बहावले धार बदल्ने र भूक्षय बढ्ने क्रम बढ्दो छ । तर प्रहरी प्रशासनको संरक्षणमा स्काभेटर नै प्रयोग गरी नदीदोहन गर्ने क्रम रोकिन सकेको छैन ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको पुडी, हलेरी, सालबेंसी, कसेर, किमलडाँडा र दोभान घाटमा पनि नदी दोहन गरी ढुंगा, गिटी, बालुवा उत्खनन् भइरहेको छ । प्रदेशका डीआइजीदेखि सबैतिर सेटिङ मिलाएर नदीदोहन कार्य निरन्तर हुँदैआएको छ ।

यसैबीच, गण्डकी प्रदेशका डीआइजी अर्यालका घुमुवादेखि सशस्त्रको मुक्तिनाथ बाहिनीका बाहिनीपति डीआइजी नारायणदत्त पौडेल र कास्कीका एसपी जीवन श्रेष्ठका २२ जना घुमुवाहरुले २०७७ पुस १८ मा कास्कीको लेखनाथस्थित खरानेफाँटमा पिकनिक आयोजना गरेका थिए । हाकिमको घुमुवा भएर आफ्नो समेत कुस्त कमाइ गरिआएका घुमुवाहरको पिकनिकमा मदिराको नसा बढ्दै गएपछि एकआपसमा कुटाकुट नै भएको थियो ।

नेपाल प्रहरीका प्रदेश र जिल्लाका घुमुवा र सशस्त्रका घुमुवाबीच विवाद बढ्दै जाँदा कुटपिट भएको थियो । काुटपिटले उग्ररुप लिएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । पिकनिकमा झगडा भएको भनी प्रहरी टोली पुग्दा डीआइजीदेखि एसपीका घुमुवा नै मदिराले धुत भएर कुटपिट गरिरहेको फेलापारेका थिए । जुन सूचना कास्कीका एसपी जीवन श्रेष्ठदेखि गण्डकीका डीआइजी अर्यालसम्म पुगेपछि उनीहरु गुपचुप बनाउने प्रयासमा लागे ।

मिडियामा पनि पिकनिक काण्ड सार्वजनिक हुन नदिने प्रयास भयो । तर केही मिडियामा यो समाचार सार्वजनिक भइहाल्यो । पत्रकारले फोटो र भिडियो समेत खिचेका थिए । तर कुटपिटको भिडियो र फोटो पछि हटाउन लगाइएको थियो । घटना गुपचुप बनाउने डीआइजी अर्याल र एसपी श्रेष्ठको प्रयास सफल हुनसकेन ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्रेष्ठले अतिरिक्त कमाइका लागि राखेका घुमुवा प्रहरी हवल्दार भरत भुजेल र वडा प्रहरी कार्यालय बगर पोखरामा कार्यरत प्रहरी हवल्दार जनक रावतबीच शुरुमा भनाभन भएपछि विवाद सुरु भई कुटपिटमा परिणत भएको थियो । घुमुवाहरुको कुटपिट सार्वजनिक भएपछि डीआइजीले उनीहरुलाई प्रदेश कारबाही गर्ने भने पनि त्यो ‘तँ कुटेजस्तो गर, म रोएजस्तो गर्छु’ भनेजस्तै भएको स्रोत बताउँछ । अहिले पनि डीआइजीका घुमुवाहरु असुलीमा रमाइरहेका छन् । नेपालफेस

२९ पुस २०७७, बुधवार १२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु