जुवा खालबाट समातिएका तिब्बतीयनसँग नेपाली नागरिकता !

2.15K
shares

काठमाडौँ । बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका तिब्बतीयन नागरिक सोनाम वाङ्गेलको साथमा नेपाली नागरिकता फेला परेको छ । २४ वर्षीय सोनामले जिल्ला प्रशासन कार्यालय धादिङबाट सोनाम तामाङको नाममा नागरिकता लिएका हुन् ।

असोज ४ मा काठमाडौँ–६ बौद्ध तिनचुलीमा सोनामसहित ७ जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरू मेशिन मार्फत ‘फिस सुट गेम’ खेल्दै थिए ।

नागरिकताबारे सोधपुछ गर्दा सोनामले भने, ‘४ लाख तिरेर किनेको हुँ ।’ तिब्बतको आम्दो घर भएका सोनामले धादिङको नेत्रावती वडा नम्बर–१ स्थायी ठेगाना र बुवा हर्कमान तामाङ उल्लेख गरेर नागरिकता लिएका हुन् ।

नागरिकतामा उल्लेखित बुबालाई सोनामले नचिनेको प्रहरीलाई बताएका छन् । २०८१ असार ६ मा जारी नागरिकता चारजना बिचौलिया र जिल्ला प्रशासन कार्यालय धादिङका एकजना नायब सुब्बाले मिलेर बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सोनामलाई नागरिकता बनाउन सहयोग गर्ने चारजना बिचौलियालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए । उनले भने, ‘चार जनालाई पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा पठाएका छौँ ।’

पक्राउ पर्नेमा भारत घर भएर काठमाडौँको महांकाल बस्ने छिरिङ डुण्डुप, सिन्धुपाल्चोकको हेलम्बु घर भएका छिरिङ वाङ्दी शेर्पा, धादिङ खनियाबास घर भएका रामेश्वर रिजाल र नेत्रावती घर भएर मनमैजु बस्ने मदन तामाङ छन् ।

उनीहरुविरुद्ध धादिङ प्रहरीले नागरिकता सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान थालेको छ ।

सोनामले छिरिङ डण्डुपलाई नागरिकता लिनका लागि एकमुष्ट चार लाख दिएको प्रहरीसँग बताएका छन् । सोनामको नागरिकता नम्बर हो ‘२६–०१–८१–०३२१७’ । सो नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय धादिङ पनि जानु परेन । बिचौलियाले उनलाई ठमेलस्थित कफिशपमा औँठाछाप लिएका हुन ।

४ लाख नगद दिएको दुई महिनापछि छिरिङ डुण्डुपको समूहले काठमाडौँमा नै नागरिकता ल्याएर दिएको उनले प्रहरीलाई बताएका छन् । २४ वर्षीय सोनामले अहिले जुवा मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौँको थुनामा छन् ।

जुवा खालबाट प्रहरीले १२ लाख नेपाली रुपैयाँ, २ हजार डलर र ३ हजार चिनियाँ युआन बरामद गरेको छ । जुवा मुद्दामा छुटेपछि सोनामलाई नागरिकता सम्बन्धी अनुसन्धान गर्न धादिङमा पठाइने एसएसपी भट्टराईले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083