सुरक्षा, जनचासो विषयक नागरिक सुनुवाइ कार्यक्रम
वि.सं.२०८२ असार २८ शनिवार १५:१५
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीको प्रमुख आतिथ्यतामा सुरक्षा, जनचासो समाधान विषयक नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक सेवा केन्द्र, चावहिलका अध्यक्ष दिपक आचार्यको अध्यक्षतामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “सुरक्षा, जनचासो र समाधान विषयक नागरिक सुनुवाइ कार्यक्रम” प्रहरी वृत्त गौशाला, काठमाडौँ महानगरपालिका–८, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलको संयुक्त आयोजनामा सम्पन्न भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि एसएसपी विश्व अधिकारीद्वारा सम्बोधनका क्रममा “निलो पोशाक लगाउने प्रहरी आफैंमा सामुदायिक प्रहरी हुन् । प्रहरी निलो पोशाक भित्रका नागरिक हुन्, जसले सेवा, सुरक्षा र समन्वयमा विश्वास गर्छन्” नेपाल प्रहरी नागरिकमैत्री प्रहरी भएकोले नागरिकसँगको सहकार्य विना प्रहरी कार्य प्रभावकारी हुन सक्दैन।” भनी ब्यक्त गर्नु भयो ।
उहाँले प्रहरीद्वारा दैनिकरूपमा गरिने ११ सयभन्दा बढी कार्यहरू शान्ति–सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, सवारी व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका क्षेत्रहरूमा विभाजन गरी प्रभावकारी रूपमा सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो।
हालका प्राकृतिक विपद्का सम्भावनालाई मध्यनजर गर्दै उद्धार सामग्री संकलन तथा व्यवस्थापन भईरहेको र अघिल्ला दिनहरूमा टोखा लगायतका क्षेत्रमा जिल्ला प्रहरी परिसर तथा मातहतका कार्यालयहरूबाट सफलतापूर्वक उद्धार कार्य भइसकेको उल्लेख गर्नुभयो।
लागूऔषध नियन्त्रण सम्बन्धमा उहाँले “हरेक घर लागूऔषध मुक्त बनाउन सकेमा ठूलो परिणाममा समस्या समाधान गर्न सकिन्छ,” भन्दै प्रहरी र नागरिक हातेमालोमा लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, लागूऔषध लगाएतका समाजमा हुने अन्य आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि सूचनाको आदान–प्रदान गर्न समेत आग्रह गर्नुभयो।
उक्त कार्यक्रममा प्रहरी वृत्त गौशाला र बौद्धका प्रमुखज्यूहरू, ट्राफिक प्रहरी प्रभाग गौशालाका प्रहरी प्रमुख, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू, टोल सुधार समिति, आमा समूह तथा स्थानीय नागरिक सहित करिब १५० जना को सक्रिय सहभागिता रहेको थियो।















