दाइजो नपाए पछि सम्बन्ध विच्छेद

2.13K
shares

रुपन्देही । जिल्ला अदालत रुपन्देहीको आँगनमा बिहान घाम फैलिँदै गर्दा राजकुमारी जैसवाल चुपचाप बेञ्चमा बसिरहेकी देखिन्छिन्। हातमा केही कागज, आँखामा थकान र मनमा अनगिन्ती प्रश्न। भारतको गोरखपुर माइती भई हाल सिद्धार्थनगर नगरपालिका–६ मा बस्दै आएकी उनी पछिल्ला महिनादेखि यही अदालत वरिपरि घुमिरहेकी छिन्—आफ्नो वैवाहिक जीवनको न्याय खोज्दै। नेपाली भाषा स्पष्ट रूपमा नबुझ्ने राजकुमारीले २०८० साल फागुन २८ गते सिद्धार्थनगर नगरपालिका–८ स्थित एक होटलमा ३७ वर्षीय निर्मल प्रसाद जैसवालसँग मागी विवाह गरिन्। परिवारको सहमतिमा, परम्परा अनुसार, नयाँ जीवनका सपना सहित। तर त्यो सपना केही सातामै कानुनी कागज र अदालतको मितिमा सीमित हुन पुग्यो। विवाहपछि करिब ३५ दिनमा दुलही माइत फर्किने परम्परा छ। राजकुमारी पनि सोही परम्परा अनुसार गोरखपुर गइन्। “दुलहीलाई पुनः घर ल्याउन श्रीमान् आफैँ आउनुपर्छ,” उनी भन्छिन्, “तर उहाँ कहिल्यै आउनु भएन। अन्ततः म आफैँ फर्किएँ।” त्यसपछि सुरु भयो दबाब, माग र अपमानको सिलसिला।

राजकुमारीका अनुसार विवाहकै बेला उनका परिवारले १५ लाख भारतीय रुपैयाँ, १.५ तोला सुन र अन्य जिन्सी सामग्री दाइजोस्वरूप दिएका थिए। तर त्यतिले पुगेन। “थप दाइजो ल्याउन नसक्ने बताए पछि मलाई घरमै बस्न दिइएन,” उनी सम्झिन्छिन्। अन्ततः श्रीमान्‌ले उनलाई देवकोटा चोक नजिकैको डेरामा लगेर राखे । उक्त डेरा घरमालिक सम्झना बज्राचार्यलाई सुरुमा राजकुमारी ‘नाताकी बहिनी’ भनेर चिनाइएको थियो। “उनी अध्ययनका लागि नेपाल आएकी र केही समय मात्रै बस्ने भनिएको थियो,” बज्राचार्य भन्छिन्। निर्मल दैनिकजसो होटल आउँथे, खानेकुरा ल्याइदिन्थे। तर सम्बन्धबारे शंका लागेपछि जब उनले सिधै राजकुमारीसँग सोधिन्, वास्तविकता बाहिर आयो उनी त श्रीमती थिइन्। झुटो विवरण दिएको विषयमा विवाद बढेपछि होटलले बसोबास गराउन नसक्ने निर्णय गर्‍यो। राजकुमारी अहिले अदालत धाइरहेकी छिन्, किनकि उनका श्रीमान्‌ले नै उनीविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

मुक्तिखबरले निर्मल प्रसाद जैसवालसँग फोनमार्फत प्रतिक्रिया लिन खोज्दा उनले संक्षिप्त रूपमा भने, “म कानुनी रूपमा अघि बढेको छु। अहिले केही बोल्न चाहन्नँ।” थप प्रश्नमा उनी फोन काटिदिए। कानुनी दृष्टिले हेर्दा, दाइजोको दबाब, घरबाट निकालिनु र अपमानजनक व्यवहार सम्बन्ध विच्छेदका वैध आधार हुन सक्ने अधिवक्ता केशव चौधरी बताउँछन्। “यस्ता घटनाले वैवाहिक सम्बन्धको सम्मान र विश्वास दुवै तोड्छ,” उनी भन्छन्। राजकुमारीको कथा कुनै एक व्यक्तिको मात्र होइन। दाइजो प्रथा आज पनि कति महिलाको जीवनलाई अदालतको ढोकासम्म पुर्‍याइरहेको छ भन्ने प्रश्न यसले उठाउँछ। अदालतको बेञ्चमा बसेकी राजकुमारीको आँखामा अहिले पनि एउटै आशा झल्किन्छ—कानूनले उनको आवाज सुन्नेछ, र न्याय ढिलो भए पनि टाढा नहुनेछ।

नोट: राजकुमारीले हिन्दी भाषामा व्यक्त गरेका भनाइहरू नेपालीमा अनुवाद गरीएको हो ।