५ वर्षमा कुशासन र गरिबी अन्त्य गर्ने दाबी: गगन थापा

1.72K
shares

गगन थापाले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र कुशासन र गरिबी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली कांग्रेसका सभापति थापाले जनकपुरमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै समावेशी नेतृत्वमार्फत देश परिवर्तन सम्भव हुने बताए।

जनकपुरको तिरहुतियामा भएको कार्यक्रममा उनले भने, “टिम नेपालले पाँच वर्षमा कुशासन र गरिबी हराउँछ, तर त्यो एक्लैले सम्भव हुँदैन।” उनका अनुसार वडादेखि केन्द्रसम्मका सरकार, विभिन्न राजनीतिक शक्ति र नागरिक समाजलाई जोडेर सामूहिक नेतृत्व निर्माण गरिनेछ।

थापाले कांग्रेसले वर्तमान समस्या समाधान गर्दै भविष्यको विकासको आधार तयार पार्ने दाबी गरे। प्रतिज्ञापत्रमा उल्लेखित प्रतिबद्धता पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म सबैले पालना गर्ने उनले बताए।

मधेसको सम्भावनाबारे बोल्दै उनले शिक्षा, स्वास्थ्य, विज्ञान र सूचना प्रविधिमा मधेसले देशलाई नेतृत्व गर्न सक्ने बताए। मधेसलाई ज्ञानको केन्द्र बनाउने लक्ष्यसहित कांग्रेस मधेस केन्द्रित अभियानमा लागेको उनको भनाइ थियो। विगतमा मधेसका शिक्षकहरूले देशभर शिक्षा फैलाएको स्मरण गर्दै अहिले सो क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधार कमजोर अवस्थामा रहेको उनले उल्लेख गरे।

उनले कृषि, पर्यावरण र खानेपानीजस्ता समस्या समाधानलाई प्राथमिकतामा राख्ने बताए। साथै, मधेसले सिंगो देशलाई आर्थिक रूपमा धान्न सक्ने क्षमता राख्ने दाबी गर्दै समृद्ध मधेसमार्फत समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

विदेशमा रहेका नेपालीको सुरक्षाबारे बोल्दै उनले जहाँ नेपाली युवा भए पनि त्यहाँ राज्यको उपस्थिति सुनिश्चित गर्ने बताए। दूतावास विस्तार र प्रभावकारी सेवा मार्फत विदेशमा रहेका नेपालीको हेरचाह गर्ने व्यवस्था गरिने उनको प्रतिबद्धता थियो।