२५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२ हजार डलर !

5.46K
shares

काठमाडौं । २५ वर्षमा प्रत्येक नेपालीको प्रतिव्यक्ति आय १२ हजार पाँच सय अमेरिकी डलर पुग्ने गरी सरकारले लक्ष्य निर्धारण गर्ने भएको छ। राष्ट्रिय योजना आयोगले ‘नेपालको दीर्घकालीन सोच, सन् २०४३’ अवधारणापत्रमार्फत यो लक्ष्य तय गरेको हो। २५ वर्षमा नेपाल उच्च आयस्तरसहितको विकसित मुलुक (ओईसीडी) का रूपमा रुपान्तरण हुनेछ। प्रधानमन्त्री केपी ओलीले उक्त अवधारणापत्र स्वीकृत गरिसकेका छन्।

अबको गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेकाले पाँच वर्षमा दुई अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ दीर्घकालीन अवधारणापत्र तयार पारिएको आयोगका उपाध्यक्ष प्राध्यापक पुष्पराज कँडेलले बताए। ‘नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धताअनुसार सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा रुपान्तरण हुनेछ’, उनले भने।

प्रतिव्यक्ति आय चार हजार डलर पुर्‍याउने नयाँ लक्ष्य तय भएको छ। यसअघि गरिएको भिजन २०३० मा प्रतिव्यक्ति नेपालीको आय दुई हजार पाँच सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य थियो। अहिले नेपालीको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर छ।

नेपालले दिगो विकास लक्ष्य प्राप्त गर्न सन् २०१६ देखि २०१९ सम्ममा १० खर्ब ५५ अर्ब खर्चनुपर्नेछ। २०२० देखि २०२२ सम्म १५ खर्ब ५९ अर्ब, २०२३ देखि २०२५ सम्म २० अर्ब ४६ करोड र चौथो तथा अन्तिम चरणमा २०२६ देखि २०३० सम्म ३० खर्ब ७९ अर्ब खर्चिनुपर्नेछ।

२५ वर्षका लागि तय भएको दीर्घकालीन सोचअनुरूप उच्च र समतामूलक राष्ट्रिय आय, मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्णउपयोग, सर्वसुलभ तथा आधुनिक पूर्वाधार एवं आबद्धता, उत्पादक र उत्पादकत्वमार्फत समृद्ध नेपाल निर्माण गर्ने उद्देश्य अघि सारिएको छ।