पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव
वि.सं.२०७८ कात्तिक २८ आइतवार ११:२५
shares

हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको चरम अभावको समस्या झेल्नुपरेको छ । मल अभावका कारण समयमै गहुँ छर्न नपाएर समय घर्किन लागेको किसानले गुनासो गरेका छन् । वर्षापछि डुबानमा परेको होचो भागको अधिकांश क्षेत्रको जग्गा भने हिलाम्मे भएका कारण अझै खनजोत गर्न सकिएको छैन । पानी नजमेका अग्लो भागका जग्गामा खनजोत गरेर गहुँ छर्ने तयारीमा रहेका किसानलाई मल अभाव भएको हो ।
पश्चिम तराईका जिल्लामा यही कात्तिक अन्तिम हप्ताभित्रमा गहुँ छरिसक्नुपर्छ । यस समयभित्र गहुँ नछरेमा उत्पादन राम्रो नहुने किसानको भनाइ छ । “कात्तिक अन्तिमतिर गहुँ छर्दा उत्पादन राम्रो हुने भए पनि यसपालि वर्षाका कारण डुबानमा परेका खेत जोत्न सकिएको छैन”, धनगढी उपमहानपगरपालिका–१३ का कृषक गुलाब राना भन्छन्, “डुबानमा नपरेका अग्लो भागका जग्गामा गहुँ छर्नका लागि मल नहुँदा अर्को समस्या आइलागेको छ ।”
कर्पोरेशनले अनुदानको डिएपी मलको विकल्पमा गैरअनुदानित सिङ्गल सुपर फस्फेट ९एसएसपी० मल पनि बिक्री गर्दै आएको छ । सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री वितरणको व्यवस्था गर्न कर्पोरेशनको धनगढी शाखालाई रु एक करोड बजेट उपलब्ध गराएको थियो ।
यस सम्बन्धमा भएको सम्झौताअनुसार कर्पोरेशनले बिक्री गर्दै आएको रासायनिक मल एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट तोकिएको मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री वितरण भइरहेको छ । डिएपी र युरिया मलको विकल्पमा एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल प्रयोग गर्न सकिने भए पनि कृषकबाट सो मलको माग खासै नआउने गरेको बताइएको छ ।
कर्पोरेशनाले सम्झौताअनुसार ५० किलोको प्रतिबोरा एमोनियम सल्फेट रु एक हजार, बोरोन मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु ९३०, जिङ्क मिश्रण भएको सिङ्गल सुपर फस्फेट रु ९०० बिक्री मूल्य निर्धारण गरेको छ । प्रदेशमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको जनाइएको छ ।






























