बीमा बन्द भएपछि बिरामीको बिलौना-‘उपचार गर्न सक्दिनँ, अब घरै फर्किन्छु’
टिचिङ अस्पतालकाे बिमा स्वास्थ्थ सेवा बन्द
वि.सं.२०८२ माघ ९ शुक्रवार २०:४३
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)ले १ माघदेखि स्वास्थ्य बीमाबाट हुने सेवा बन्द गरेपछि गरिब तथा मध्यम वर्गका बिरामीहरू गम्भीर समस्यामा परेका छन् । स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक अस्पतालहरूलाई करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी राखेपछि टिचिङसहित केही ठूला अस्पतालहरूले बीमा सेवा स्थगित गरेका हुन् ।
बीमा सेवा बन्द भएपछि उपचारका लागि टिचिङ अस्पताल पुगेका बिरामीहरू खर्च तिर्न नसकेर अलपत्र परिरहेका छन् । पाल्पा तानसेनका ८२ वर्षीय कृष्णप्रसाद गैरे दुई साताअघि हर्नियाको उपचारका लागि काठमाडौं आएका थिए । स्वास्थ्य बीमाबाट एक लाखसम्म उपचार पाइने विश्वासमा आएका उनी अस्पताल पुगेपछि बीमा सेवा बन्द भएको थाहा पाएपछि स्तब्ध भए ।
‘बीमाले हामीजस्ता गरिबलाई ठूलो राहत दिएको थियो,’ आँखाभरि आँसु पार्दै गैरेले भने, ‘सेवा बन्द भएपछि ४० हजार सकियो, अब घर फर्केर ऋण खोज्नुपर्ने अवस्था आयो ।’
यसैगरी, सिन्धुलीका भुवन थापा न्युरो समस्याबाट पीडित हजुरआमालाई लिएर टिचिङ पुगेका थिए । हातमा बीमाको कार्ड हुँदाहुँदै पनि सेवा नपाएपछि उनी निराश छन् । ‘राज्यले भनेको पैसा तिरेर बीमा गरेका हौं, तर आवश्यक परेको बेला नै सेवा बन्द भयो,’ उनले गुनासो गरे ।
मिर्गौला रोगी दुर्गाप्रसाद उप्रेती पनि बीमा सेवा बन्द भएपछि अन्योलमा परेका छन् । प्रत्यारोपणका लागि आवश्यक प्रारम्भिक परीक्षण गरिसकेका उनी अब उपचार अघि बढाउने कि रोक्ने भन्ने दोधारमा छन् । ‘निम्न वर्गका लागि स्वास्थ्य बीमा आशाको किरण थियो,’ उनले भने, ‘अब राज्यले आफ्नो दायित्व कति पूरा गर्यो भन्ने प्रश्न उठेको छ ।’
बाथ रोगबाट पीडित मसिना परियार मिजार छिमेकीसँग पैसा सापटी लिएर उपचार गराइरहेकी छन् । ‘बीमा हुँदा उपचार सजिलो थियो, अहिले पैसा तिरेर गर्नुपर्दा निकै गाह्रो भएको छ,’ उनले भनिन् ।
त्यस्तै, दृष्टिविहीन सुरज बोहरा पनि श्वासप्रश्वास समस्याको उपचारका लागि तनहुँबाट काठमाडौं आएका थिए । बीमाबाटै उपचार लिने सोचमा आएका उनी सेवा बन्द भएको थाहा पाएपछि खर्चको चिन्तामा परेका छन् ।
टिचिङ अस्पतालका उपनिर्देशक डा। पवनराज चालिसेका अनुसार स्वास्थ्य बीमा बोर्डले अस्पताललाई ५५ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी राखेको छ । ‘मासिक ५–६ करोड बराबरको सेवा दिँदै आएका थियौं, तर लामो समयसम्म भुक्तानी नआएपछि अस्पताल धान्नै नसक्ने अवस्थामा पुग्यो,’ उनले भने ।
उनका अनुसार बीमा दाबी ९क्लेम० को ठूलो हिस्सा विभिन्न नीतिगत कारण देखाएर अस्वीकृत हुने र स्वीकृत भएको रकम पनि समयमै नआउँदा अस्पताललाई आर्थिक भार थपिँदै गएको छ ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। कृष्णप्रसाद पौडेलले सेवाप्रदायक संस्थाहरूसँग निरन्तर संवाद भइरहेको र अधिकांश रकम मन्त्रालयमार्फत सुनिश्चित भइसकेको दाबी गरे । ‘सेवा प्याकेज पुनरावलोकन, भुक्तानी व्यवस्थापन सुधार र प्रणाली डिजिटलाइजेसनमार्फत समस्या समाधान गरिन्छ,’ उनले भने ।
उनका अनुसार छिट्टै बोर्ड बैठक बसेर सुधारको स्पष्ट मार्गचित्र सार्वजनिक गरिनेछ ।
बीमा सेवा बन्द भएपछि दैनिक सयौं बिरामी प्रभावित भएका छन् । उपचारका लागि ऋण खोज्नुपर्ने, घर फर्किनुपर्ने वा उपचार नै रोक्नुपर्ने अवस्था सिर्जना भएको छ । टिचिङ अस्पतालमा निर्भर गरिब बिरामीहरूका लागि स्वास्थ्य बीमा जीवनरेखा जस्तै थियो । तर सेवा नै बन्द भएपछि उनीहरू थप असहाय बनेका छन् ।















