काठमाडौँ क्षेत्र नम्बर–४ का जनतासँग गरेको प्रतिबद्धता अनुसार काम गर्छु : नेता इन्द्र भुसाल

ढल र डुबानको पीडालाई केन्द्रीय एजेन्डा बनाउने घाेषणा

5.77K
shares

काठमाडौ । नेकपा एमाले जिल्ला समिति ओखलढुंगा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएको अवसरमा आयोजित कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा उम्मेदवार इन्द्रकुमार भुसालले काठमाडौँ–४ का गम्भीर जनजीविकासँग जोडिएका समस्यामाथि सशक्त रूपमा ध्यानाकर्षण गराएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सहभागी कार्यक्रममा बोल्दै भुसालले बबरमहलदेखि चुनिखेलसम्म फैलिएको अव्यवस्थित ढल व्यवस्थापनका कारण हजारौँ नागरिकको दैनिक जीवन कष्टकर बनेको उल्लेख गरे। उनले ढलको समस्या अब केवल असुविधा नभई स्वास्थ्य र वातावरणीय संकटको रूपमा देखा परिसकेको बताए।

त्यसैगरी, बर्खायाममा कपन लगाएत क्षेत्रा बारम्बार हुने डुबानले जनजीवन आक्रान्त बनाएको यथार्थ प्रस्तुत गर्दै भुसालले यी समस्याहरू सहन नसकिने तहमा पुगेको स्पष्ट पारे। “जनताको पीडा अब भाषणमा सीमित होइन, ठोस समाधानको चरणमा प्रवेश गर्नुपर्छ,” उनले भने।

काठमाडौँ क्षेत्र नम्बर–४ का जनतासँग गरेको प्रतिबद्धता अनुसार ढल व्यवस्थापन, डुबान नियन्त्रण तथा आधारभूत सहरी पूर्वाधार सुधारलाई उच्च प्राथमिकतामा राखेर समाधान गरिने भुसालको भनाइ थियो। उनले यी विषयहरूलाई पार्टीको केन्द्रीय एजेन्डाका रूपमा अघि बढाउन नेतृत्व समक्ष आग्रहसमेत गरे।

जनताको पीडालाई नीति, कार्यक्रम र बजेटसँग जोडेर समाधान गर्न नेपाली कम्युनिस्ट पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट पार्दै भुसालले जनमुखी विकास र दिगो समाधान बिना समृद्धि सम्भव नहुने धारणा समेत व्यक्त गरेका थिए।