जनताले २१ फागुनलाई निर्णायक दिनका रूपमा हेरिरहेका छन् : प्रचण्ड
वि.सं.२०८२ माघ ९ शुक्रवार १८:२६
shares

९ माघ,काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अझै पनि गम्भीर संकटको अवस्थामै रहेको र त्यसबाट बाहिर निस्कने एकमात्र उपाय निर्वाचन भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले देशभरका जनता व्यग्रताका साथ २१ फागुनको निर्वाचनको प्रतीक्षामा रहेको बताए। उनका अनुसार अहिले सिंगो राष्ट्र चुनावी माहोलमा प्रवेश गरिसकेको छ।
उक्त कार्यक्रम नेकपा एमाले ओखलढुंगाका अध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउने अवसरमा आयोजना गरिएको थियो।
प्रचण्डले भदौ २३ र २४ का घटनाहरूको स्मरण गर्दै मुलुक अझै पूर्ण रूपमा सुरक्षित अवस्थामा नपुगेको जिकिर गरे।
“देश अझै संकटमै छ। दुर्घटना टरिसक्यो भन्ने अवस्था छैन,” उनले भने, “यदि देशभर जनताबीच दरो एकता निर्माण गर्न सकिएन भने दुर्घटना रोक्न सकिँदैन।”
उनले अहिले अरूको मुख ताकेर बस्ने अवस्था नरहेको भन्दै पार्टीलाई अझ एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
जेनजी आन्दोलनपछिको राजनीतिक संकटका बेला आफू र माधवकुमार नेपालबीच भएको छलफलपछि नै देशलाई निर्वाचनतर्फ लैजाने निर्णय गरिएको उनले बताए।
“भदौ २६ गते हामीले रातभर छलफल गर्यौं— देशलाई कसरी बचाउने, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशी समानुपातिक प्रणाली कसरी जोगाउने भन्ने विषयमा,” प्रचण्डले भने, “त्यसकै परिणाम अन्तरिम सरकार बन्यो र अहिले सिंगो देश निर्वाचनमय बनेको छ।”
उनका अनुसार जनता अहिले २१ फागुनलाई निर्णायक दिनको रूपमा पर्खिरहेका छन् र यही निर्वाचनले देशलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गरे।






























