भारतीय बजेटः नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ अनुदान

1.08K
shares

भारत सरकारले आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई अघिल्लो वर्षकै हाराहारीमा सहयोग निरन्तरता दिने उल्लेख गरिएको हो।

बजेट विवरणअनुसार नेपालले पाउने यो अनुदान नेपाली मुद्रामा करिब ८ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी हुन्छ। चालु आर्थिक वर्षमा भने भारतले संशोधित अनुमानअनुसार नेपाललाई ८ सय ३० करोड भारतीय रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ। सुरुमा ८ सय करोड घोषणा गरिएको उक्त रकम पछि संशोधन गरी बढाइएको थियो।

भारतले छिमेकी राष्ट्रमध्ये भुटानलाई सबैभन्दा बढी अनुदान दिने भएको छ। आगामी आर्थिक वर्षका लागि भुटानलाई २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ विनियोजन गरिएको छ, जुन चालु वर्षको तुलनामा उल्लेख्य वृद्धि हो। चालु आर्थिक वर्षमा भुटानका लागि १ हजार ९ सय ५० करोड रुपैयाँ छुट्याइएको थियो।

बजेटमा अन्य मुलुकहरूका लागि पनि अनुदान रकम तोकिएको छ। भारतले माल्दिभ्सलाई ५ सय ५० करोड, म्यानमारलाई ३ सय करोड, श्रीलंकालाई ४ सय करोड, अफगानिस्तानलाई १ सय ५० करोड, बंगलादेशलाई ६० करोड, अफ्रिकी राष्ट्रहरूलाई कुल २ सय २५ करोड तथा मंगोलियालाई २५ करोड भारतीय रुपैयाँ अनुदान दिने जनाएको छ।

भारतले छिमेकी र मित्र राष्ट्रहरूसँगको विकास सहकार्यलाई प्राथमिकतामा राख्दै अनुदान र सहयोग निरन्तरता दिएको बजेट वक्तव्यमा उल्लेख छ।