२५ अर्बको एकवर्षे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

आज दिउँसो ३ बजेसम्म बोलकबोल

364
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ आज जारी गर्ने भएको छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ बजेसम्म बोलकबोल गरिनेछ। बोलकबोलबाट निर्धारण हुने ब्याजदरकै आधारमा ऋणपत्र निष्कासन हुनेछ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ। यसको साँवा २०८४ असार १९ गते भुक्तानी गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा वितरण हुनेछ।

बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँदेखि त्यसपछि ५ करोड रुपैयाँका दरले कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। जारी हुने ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिनेछ।

यसमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन्। स्वीकृत ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार स्वीकृत ऋणपत्र लगानी पोर्टफोलियोमा समावेश हुनेछ। यसलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083