आजको मन्त्रिपरिषद् बैठकका निर्णय : गोरखापत्रमा नयाँ नेतृत्वदेखि राष्ट्रिय नीति स्वीकृतिसम्म
वि.सं.२०८३ असार १८ बिहीवार १९:३३
shares

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवालाई पनि स्वीकृति दिएको छ।
यस्तै, राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्झौता (बीबीएनजे) अनुमोदनका लागि संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले शिक्षा (दशौं संशोधन) नियमावली,२०८३ , राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ पनि स्वीकृत गरेको छ। साथै, अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न अनुमति दिने निर्णय गरिएको छ।
यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ। बैठकले कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गरेको सरकारले जनाएको छ।






























