इन्धन चोरी प्रकरण : निगमपछि सीआईबीले थाल्यो अनुसन्धान
वि.सं.२०७५ मंसिर १८ मंगलवार १३:३२
shares

विराटनगर । लकिङ गरेको टयांकरबाट करिब २ हजार ५ सय लिटर डिजेल चोरी भएको प्रकरण जटिल बन्दै गएको छ । यस विषयमा नेपाल आयल निगमका उपनिर्देशक अञ्जना पोखरेल नेतृत्वको टोलीले स्थलगत छानबिन गरी राजधानी फर्के लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ ।
गृह मन्त्रालयको निर्देशनमा अनुसन्धान सुरु गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी नीरज शाहीले बताए । प्रहरी निरीक्षकको नेतृत्वमा गएको सीआईबी टोलीले शुक्रबारदेखि अनुसन्धान सुरु गरेको शाहीको भनाइ छ । टोली शुक्रबार नेपाल आयल निगमको प्रदेश १ को कार्यालय विराटनगर डिपोमा सोधपुछ गरी आइतबार भारतको बरौनी डिपो पुगेको छ ।
लकिङ गरिएको टयांकरबाट डिजेल चोरी भएपछि निगमको केन्द्रीय कार्यालयले आन्तरिक छानबिन गरी घटना सामान्य बनाउने प्रयास गरेको गुनासो बढेपछि आपूर्ति मन्त्रालयले सीआईबीलाई अनुसन्धान गर्न आग्रह गरेको स्रोतको भनाइ छ । अघिल्लो बिहीबार भारतको बरौनी डिपोबाट विराटनगर डिपोका लागि २० हजार लिटर डिजेल बोकेर आएको को१ख ५९६५ नम्बरको टयांकरबाट आधुनिक ताला नखोली २ हजार ५ सय लिटर डिजल चोरी भएको थियो ।
उक्त टयांकर ढुवानीकर्ता शुकदेव सिंहको हो । निगमले सिंहलाई कारबाही स्वरूप उनको नाममा रहेका अन्य ११ वटा टयांकरलाई ढुवानीमा रोक लगाएको छ । टयांकरमा लगाइएको अत्याधुनिक लकिङ प्रणालीलाई यथावतै राखेर कसरी २ हजार ५ सय लिटर डिजेल हरायो भन्ने विषयको निष्कर्षमा पुग्न निगमको आन्तरिक छानबिन समितिलाई समेत सकस परेको स्रोतको भनाइ छ ।
आधुनिक लकिङ सिस्टम प्रयोग गरिएको टयांकरबाट ताला नखोली ठूलो परिणाममा तेल चोरी हुनु आयल निगमको कर्मचारीदेखि ढुवानीकर्ता र चालकको मिलेमतो रहेको निगम स्रोतको दाबी छ । यस प्रकरणको पछिल्लो जानकारी आफूलाई नभएको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ । उक्त तालाको एउटा साँचो बरौनी डिपो प्रमुखसँग र अर्को विराटनगर डिपो प्रमुखसँग हुन्छ । स्रोतले भन्यो, ‘डिपो प्रमुखसँगको मिलोमतोबिना चालकले लकिङ टयांकरबाट डिजेल चोरी गर्नै सक्तैन ।’ स्रोतका अनुसार कि त चालकले नक्कली साँचो बनाएको हुनुपर्छ । चालक सर्वेन्द्र स्वर्णकार हुन् ।
उनले बरौनी डिपोले नै कम लोड दिएको बयान दिएको निगम प्रमुख दिनेश यादवले जनाए । उनले यसमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन् । उनी निगमको छानबिन समिति फर्किएलगत्तै काठमाडौं गएका छन् ।

























