भ्यालेनटाइन ‘डे’ का लागि डेढ करोडको गुलाफ आयात गरिँदै

5.25K
shares

काठमाडौँ । यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो। बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ।

यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ। एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ फूलको अन्तर्राष्ट्रियरूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ ।

नेपालमा वार्षिक रु २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ । आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ ।

गत वर्ष प्रतिगुलाफ रु ४० देखि ८० सम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० सम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एशोसिएसनले जानकारी दिएको छ ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083