नेपालमा कोरोना महामारी फैलिए स्वास्थ्य संकटकाल !
वि.सं.२०७६ फागुन १९ सोमवार ०९:४९
shares

Funeral workers disinfect themselves after handling a virus victim in Wuhan in central China's Hubei Province, Thursday, Jan. 30, 2020. China counted 170 deaths from a new virus Thursday and more countries reported infections, including some spread locally, as foreign evacuees from China's worst-hit region returned home to medical observation and even isolation. (Chinatopix via AP)
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रूप लिए देशभर स्वास्थ्य संकटकाल घोषणा गरिने जनाउ दिनुभएको छ।
आफूले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेको १००औं दिनमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो संकेत गर्नुभएको हो।
सरकारले सरकारी र निजी अस्पताललाई समेत कोरोनाबाट बच्न पूर्वतयारीका साथ रहन आह्वान गरी २ महिनादेखि ४३ बेड आइसुलेसन ठीक अवस्थामा राखेको छ।
यसबाट बच्न सीमा सुरक्षामा समेत विशेष ध्यान दिनुपरेकाले एयरपोर्टमा स्वास्थ्य परीक्षण डेस्क खडा गरी जनशक्ति बढाइएकाले अब जहाज चढ्नुअघि र जहाजबाट उत्रिएपछि स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाइएको जानकारी दिँदै मन्त्री ढकालले भन्नुभयो– ‘कोरोनाको संक्रमण भित्रिने प्रमुख कारण खुला सीमा हो, यसबाट बच्न सबैभन्दा पहिला सीमा सुरक्षामा ध्यान दिनुपर्छ, तातोपानी र रसुवागढी नाकामा निगरानीका लागि चिकित्सकको टोली खटाइएको छ भने प्रदेशसँग समन्वय गरी नाकामा निगरानी गर्ने व्यवस्था मिलाइएको छ।’
उहाँका अनुसार प्रधानमन्त्रीको निर्देशनमा उपप्रधानमन्त्रीको नेतृत्वमा थप अनुगमनको व्यवस्था गरिएको छ। ६० वटा मुलुकमा यसको संक्रमण फैलिई कतिपय मुलुकले घोषित/अघोषित रूपमा उडान रद्ध गरेकाले भिजिट नेपाल २०२० का सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको छ।
मन्त्री ढकालले ‘नेपालीलाई उद्धार गर्न चीन गएका विमान चालक दलका १८ जना सदस्यमा कोरोना संक्रमण नभेटिएकाले घर फर्काइएको र १ सय ७५ जना विद्यार्थी पनि सुरक्षित भएकाले सोमबार आज प्रतिवेदन सार्वजनिक गरेसँगै घर फर्काइने बताउनुभयो।
उहाँले कोरोना संक्रमण भित्रिन नदिन पहिलो चरणमा विदेशबाट नेपाल आउने सबै यात्रुको अनिवार्य परीक्षण गर्ने, दोस्रो चरणमा संक्रमण भित्रिहालेमा आवश्यक सबै जनशक्ति परिचालन गर्ने र कुनै ठूलै महामारी भएमा अस्पताल तोकी स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरिने प्रतिवद्धता जनाउनुभयो।
सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख एवं प्रवक्ता डा। विकास देवकोटाले घर–घरमा आधारित स्वास्थ्य सेवा २०७६ स्वीकृत भएको जानकारी दिनुभयो।
यो समाचाार आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेकी छिन् ।

















