रंगहरुको पर्व होलीको सामाजिक लोकप्रियता

13.68K
shares

मुक्तिखबर,काठमाडौँ।

आज रंगको पर्व अर्थात् होली। प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रंग, फूल–रूखबिरुवाको रंग, हिमाल–पहाडको रंग, किराफट्यांग्राको अनेक रंग हामीले ख्याल गरेका छौं। हरिया, राता, नीला, बैजनी, पहेँला मात्रै होइन, हामीले उल्लेख गर्ने रंगभन्दा धेरै रंग भेटिन्छन् प्रकृतिमा। यसको अर्थ, रंग हाम्रो जीवनसँग सीधै जोडिएको हुन्छ। जीवनको रंग र अध्यात्मको सम्बन्ध त्यसरी नै जोडिएको छ, जसले हरेक रंगमार्फत प्रकृति र प्रेमको अभिव्यक्ति दिन्छन्।

हाम्रो शरीरमा जसरी सात चक्र छन् र ती चक्रको प्रभाव सात रंगसँग छ, त्यसरी नै होलीमा खेलिने रंगले उस्तै वैज्ञानिक र आध्यात्मिक महत्व राख्छन्। रातो रंग प्रेम, शक्ति र साहसको प्रतीक हो। त्यस्तै सेतो पवित्रताको, हरियो प्रकृति र आत्मीयताको, पहेंलो बौद्धिकता र सादगीपनाको, नीलो शान्तिको प्रतीक हो। सुन्तला रंगले रचनात्मक शक्तिको अनि बैजनी होस र ध्यानको प्रतीकको रूपमा अर्थ लगाइन्छ।

त्यसैले जीवन, जगत् र पदार्थसँग रंगहरूको प्रभाव सँगसँगै रहन्छ। संसारको बाहिर जे देखिन्छ त्यस भौतिक रंगलाई हामी फूलसँग कल्पना गर्न सक्छौं। यसलाई आँखाले हेरेर आनन्द लिन्छौं, तर त्यसको सुगन्धले हामीलाई एक सेकेन्ड भने पनि आँखा चिम्लिन बाध्य बनाउँछ, भित्री रंगको अनुभूति दिलाउँछ, किनकि गहिराइ या भित्र हुन्छ सुगन्ध।

त्यो अदृश्य पाटो नै अध्यात्म हो, प्रेम हो र पूर्णता हो। बाहिर जे कुराले आनन्द दिन्छ, त्यसलाई पूर्णतासाथ ग्रहण गर्न कसले रोक्न सक्छ र रु त्यसको साथसाथ भित्री आनन्द केमा छ, त्यसप्रति पनि ध्यान दिन सके जीवन प्रेमपूर्ण र पूर्णताले भरिएको अनुभूति हुन्छ। त्यसो हुँदा खुशी, आनन्द र प्रेमपूर्ण जीवन जिउन के–कस्ता रंगहरू आवश्यक छन्, त्यो थाहा पाउनुपर्छ। प्रेम, करुणा, मित्रता, धन्यवाद र शान्तिका रंगविना जीवन आनन्दित र सफल नभएको हामीले महसुस गर्दै आएका कुरा हुन्। जहाँ सकारात्मक भाव छ त्यहाँ प्रेम छ। त्यही प्रेमरूपी रंगले आफ्नो र अरूको पनि जीवन रंगाउन सक्नुपर्छ।

परापूर्वकालमा अयोध्या राज्यमा होस् या अवध राज्यमा, मिथिला राज्यमा होस् या बाइसे–चौबीसे राज्यहरूमा नै किन नहोस्, यो महान् चाड होली मनाइने चलनलाई इतिहासले वर्णन गरेको छ। काठमाडांैको वसन्तपुरमा चीर ठड्याएपछि होलीपर्वको औपचारिक शुरूवात हुन्छ। हनुमान ढोकाको गद्दी बैठकमा तीनतले चीर ठड्याइन्छ, असत्यमाथि सत्यको जीत भएको सूचकका रूपमा यो चीर राखिने र पछि टुँडिखेलमा चीरलाई विसर्जन गर्ने चलन रहेको छ। जलेको चीरको खरानीलाई शुभ कुराका रूपमा जो–कोहीले घर लैजाने गर्दछन्।

त्रेता युगमा भगवान् विष्णुका परमभक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ। हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आफैं आगोमा भष्म भएकी दिनका रूपमा होलीको पर्व पदार्पण भएको मानिन्छ। नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ।

भगवान् श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ। यसरी पुतनाको वध भएपछि गोपालवासीहरूले जयजयकार गर्दै आजको दिनमा रंगीन उत्सव मनाएको विवरण पुराणहरूमा पाइन्छ। नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउँछ भने पहेँलो रंग भगवान् श्रीकृष्णको प्रिय रंग हो।

शौभाग्यको सूचक रातो रंगको प्रयोग पनि आज व्यापक गरिन्छ। शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीत गाउँदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ।

आजको दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ। उपत्यकालगायत पहाडी भूभागमा आजै अर्थात् फाल्गुण पूर्णिमाकै दिन अनि तराई क्षेत्रमा भोलिपल्ट प्रतिपदाका दिन बिदा दिइन्छ।

हाम्रो नेपाली समाजमा फागू पर्व पनि एउटा विशेष महत्व बोकेको चाड हो। कसैको इच्छाविपरीत रंग–लोला नछ्यापी सभ्य तरिकाले आफ्ना दौंतरीबीच रंग खेलेर रमाइलो गर्ने पर्व हो यो होली। पर्व मनाउने नाममा विकृति बढ्न थालेकाले यस पर्वलाई अनुशासितरूपमा मनाउने परम्परा जीवन्त राख्नु सबैको कर्तव्य हो।

यस पर्वलाई उमेरको हदबन्दी छैन। राजादेखि रंकसम्म सबैले आपसमा मिलेर उल्लासमय वातावरणमा रम्ने गर्दछन्।फागू पूर्णिमा अर्थात् होलीको प्रचलन कसरी आयो त रु जिज्ञासा लाग्नु स्वाभाविक हो।

प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रह्लाद नाम गरेका छोरा थिए। बाबु पापिष्ट राक्षस भए पनि उनी विष्णुभक्त थिए। बाबुले भगवान् विष्णुको भक्त प्रह्लादलाई आफ्नो बाटो अँगाल्न लगाउँदा पनि उनी डेग चलेनन्। आफ्नी बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए। तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलिका उल्टै भष्म भइन् भने प्रह्लादलाई आगोले केही गर्न सकेन। सोही खुशीयालीमा होलीपर्व चलेको हो भन्ने भनाइ छ।

रंग उत्सवको खुशीयालीपूर्ण चाडलाई नबुझी हिंसात्मक वा त्रास र विकृतिपूर्णरूपमा मनाउनु मूर्खता हो। विभिन्न किसिमका रसायन मिसाइएको रंग, कालोमोसो, अबिरमा बालुवा, लोलामा नालीको लेदो, पोखरीको दूषित पानी बेलुनद्वारा हाल्ने जस्ता कार्य घृणित हुन्। साथै यस्तो पवित्र दिन गाँजा, रक्सी खाएर जथाभावी प्रदूषित रंग छ्याप्ने गरेको पाइन्छ।

विदेशी पर्यटकलाई समेत रंगहरूले विरूप पारिदिन्छन्। होलीको नाममा यस्ता किसिमका उच्छृंखल कार्यले गर्दा देशको संस्कृति र उत्सवप्रतिको चाहना खस्किँदो छ। विडम्बना १ होलीपर्व हिजोआज फेशन र मनोरञ्जनमा परिणत हुँदै छ। फाल्गुण शुक्ल अष्टमीका दिन चीर गाडी शुरू गरिने यो चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ।

वर्षमा एकचोटि आउने यो पर्व सभ्य तरिकाले, कसैको इच्छाविपरीत रंग नलगाएर आफू–आफूमा मात्र खेल्यौं भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ। कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिकरूपले निरोगी हुनु हो। तर धर्म मान्ने र पर्व मनाउने क्रममा हाम्रो समाजमा अनेकौं विकृति र विसंगतिले प्रश्रय पाउँदै आएको छ। यस्ता किसिमका गलत प्रवृत्तिलाई हटाउन बेलैमा सचेत हुनुको साथै सरकारले पनि दरिलो कदम चाल्नुपर्दछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083