कालोबजारी रोक्न सांसद बस्नेतको आग्रह

5.08K
shares

भक्तपुर । 

प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

विश्वमा कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका पारेर व्यापारीले कालोबजारी गरेको गुनासो चौतर्फी आएपछि जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मलाई कालोबजारी नियन्त्रण गर्न उहाँले आग्रह गर्नुभएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरमा मङ्गलबार भएको छलफलमा सांसद बस्नेतले जिल्लाका चारवटै नगरपालिकामा तत्काल विपद व्यवस्थापन समितिको बैठक राखेर कारोनाको सम्भावित विपद्को पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारक्षेत्र, सुरक्षाकर्मी, स्वयंसेवकलगायत सबैको सक्रियता आवश्यक रहेको उहाँले बताउनुभयो ।

वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले अहिले देशमा कालोबजारी बढेको बताउँदै सामाजिक सञ्जाल र फेसबुकमार्फत गलत सूचना सम्प्रेषण गर्दै आतङ्क फैलिएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विपद व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारी नै सक्रिय हुनुपर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति मनोज थापाले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि ५० हजार जनचेतनामूलक पर्चा वितरण गरिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले कोरोना नियन्त्रणका सम्बन्धमा सञ्चार क्षेत्रले जोखिम मोलेरै भए पनि समन्वय, खबरदारी र सचेतीकरणको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सम्भावित विपद्को पूर्वतयारीका लागि जिल्लामा सबै तहले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँदै तीन दिनभित्र प्रतिकार्य योजना तयार पार्ने बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, नेपाली सेनाको वीरदल गणका गणपति महासेनानी ९कर्णेल० शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमलगायतले जोखिम न्यून गर्ने कार्ययोजना बनाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083