कर्णालीमा ‘खाद्य सुरक्षार्थ उत्पादन विशेष अभियान’ शुभारम्भ
वि.सं.२०७७ जेठ १ बिहीवार १५:१२
shares

सुर्खेत।
कर्णाली प्रदेश सरकारले आजबाट ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ गरेको छ । प्रदेश सरकारको श्रम दिनको अवसरमा ‘जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिऔँ’ भन्ने नारा दिएर अभियानको शुभारम्भ गरेको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज आन्तरिक मामिला तथा कानून मन्त्रालय अगाडिको जमिन ट्र्याक्टरले जोतेर अभियानको उद्घाटन गर्नुभयो । मुख्यमन्त्रीले जोतेरै उद्घाटन गर्नुभएको ४५ रोपनी जमिनमा मकै र बोडी लगाइएको छ । उक्त उद्घाटन कार्यक्रममा बोल्दै उहाँले उतिबेला नुनका लागि भोट र मधेश गर्ने कर्णाली पछिल्लो समयको विकासले यसलाई परनिर्भर बनाएको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो, “पछिल्लो समयमा कर्णालीमा सडक पुग्यो । विभिन्न सङ्घरसंस्थाको प्रवेश भयो । सडक पुगेसँग खाद्यान्न बाहिरबाट आयात हुन थाल्यो । यहाँका मान्छेहरुले काम गर्न छाडेर आयातित खाद्यान्नमा निर्भर हुँदै गए र यहाँ कृषि उत्पादनमा अत्यधिकरूपले ह्रास आयो ।” अब यसलाई पुरानै अवस्थामा लैजान कृषि उत्पादनमा प्रदेश सरकारले जोड दिनेगरी यो अभियान थालेको उहाँले बताउनुभयो ।
खाडी मुलुक तथा इजरायललगायत मरुभूमिजस्ता देशमा पानीको थोपा सङ्कलन गरेर कृषि क्रान्ति गरेको जनाउँदै नेपाल र त्यसमा कर्णालीमा हातबाटै मकै आलुको बीउ झर्दा उम्रने भूमिमा कृषि उत्पादनका कार्य गर्न कुनै गाह्रो नभएको उहाँले दाबी गर्नुभयो । अत्याधुनिक प्रविधि एवं मेसिन तथा कृषि सामग्रीको प्रयोग नगरी कडा माटोलाई खुकुलो र उम्रेको झारपात फाल्दा पनि उत्पादन बढाउन सकिने उहाँको भनाइ थियो ।
अबको बजेट उत्पादन र रोजगारीमा केन्द्रित
मुख्यमन्त्री शाहीले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट उत्पादन र रोजगारमा केन्द्रित हुने बताउनुभएको छ । विगतको बजेटमा पूर्वाधारमा जोड दिए पनि कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन आउँदो बजेट उत्पादनमा केन्द्रित गरिनेमा उहाँले जोड दिनुभयो ।
भारत र चीनको आयातमा निर्भर नेपालसहित कर्णालीलाई कोरोना भाइरसको विश्वव्यापीरूपमा पैmलिएको महामारीका कारण कतैबाट खाद्यान्न नआउने र चुनौतीका रूपमा देखिएको यो सङ्कटलाई अवसरमा बदलेर कर्णालीलाई अन्नबालीमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले यो अभियान थालेको उहाँले जनउनुभयो । कोरोनाको उच्च जोखिमबाट बचाउनसमेत सरकार उच्च सतर्कताका साथ लागेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोरोना भाइरसको महामारीले कर्णालीलाई पर्ने खाद्य सङ्कटबाट बचाउन प्रदेश सरकारले ‘खाद्य सुरक्षाका लागि उत्पादन विशेष अभियान’ शुभारम्भ गरेको तर्क गर्नुभयो । “अहिले पनि कर्णालीमा ३५ हजार मेट्रिक टन खाद्यान्न अभाव छ”, मन्त्री केसीले भन्नुभयो, “त्यो अभाव पूर्ति गर्न र उत्पादनमा वृद्धि ल्याउन बाँझो जमिन उपयोगको नीति अख्तियार गरेका छौँ ।”
दैलेखमा २०० रोपनी बाँझो जमिनमा सामूहिक खेती शुरु गरिसकेको जनाउँदै उहाँले कर्णालीभरि भएका बाँझो जमिन उपयोग गरी गाउँ भित्रिएका युवालाई रोजागरी दिने योजनामा सरकार अघि बढेको बताउनुभयो । अहिले निम्तिएको यो सङ्कटले कर्णालीलाई आत्मनिर्भर बन्ने उत्प्रेरित गरेको उहाँको भनाइ थियो । उत्पादनको यो विशेष अभियानमा साथ दिन कर्णालीवासी नागरिकलाई प्रदेश सरकारले अपिल गरेको छ ।
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हरेक महिनाको १ र १५ गतेको श्रम दिवसको अवसरमा उद्घाटित अभियान कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रमुख सचिव टेकनाराण पाण्डेसहित विषयगत मन्त्रालयका सचिव र अन्य कर्मचारीको सहभागिता रहेको थियो ।



















