कोरोना नियन्त्रणका लागि चीनबाट स्वास्थ्य सामग्री आइपुग्यो
वि.सं.२०७७ जेठ १५ बिहीवार १४:०५
shares

काठमाडाैं। नेपाली सेनाले चीनबाट मगाएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री बिहीबार काठमाडौं आइपुगेको छ ।
सेनाले चीनको ग्वान्जाओबाट मगाएको स्वास्थ्य सामग्री बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । निगमको वाइडबडी जहाज बुधबार राति चीनको ग्वान्जाओ उडेको थियो । जहाजले त्यस ठाउँबाट करिब १५ टन स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार वाइडबडी जहाजका दुई उडानबाट करिब ३२ टन स्वास्थ्य सामग्री ल्याइएको छ । उहाँले चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री मध्ये ४७.५ टन जहाजबाट ल्याउने भनिए पनि पछिल्लो उडानमा ३० पोर्टेवल एक्सरे मेसिन जहाजमा नअटेकाले स्थलमार्गबाटै ल्याउने व्यवस्था मिलाइएको बताउनुभयो ।
सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३४१ टन स्वास्थ्य सामग्रीमध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य सामग्री स्थलमार्गबाट ल्याउने योजना बनाएको थियो । यसअघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य सामग्री जहाजबाट आइसकेको छ । सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउने जनाएको छ ।




























