मुख्य नदीमा पानीजहाज चलाउन अध्ययन, समुद्रमा आफ्नै ध्वजावाहक पानीजहाज
वि.सं.२०७७ जेठ १६ शुक्रवार ०९:५५
shares

काठमाडौं ।नेपालको प्रमुख नदीहरूमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । सरकारले कोशी, नारायणी, कर्णालीलगायत ठूला नदीमा जहाज चलाउन अध्ययन गर्न लागिएको हो ।आर्थिक वर्ष २०७७–७८ को लागि प्रस्तुत बजेट वक्तव्यमा उल्लेख गर्दै ती नदीमा पानीजहाज सञ्चालनका लागि अध्ययन गर्न लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो ।
‘कोशीको चतरादेखि तुम्लिङटार, नारायणीको त्रिवेणीदेखि देवघाट हुँदै राम्दी र कर्णालीको खक्रौलादेखि खिमडीसम्म जलयातायात सञ्चालनको सम्भाव्यता अध्ययनकार्य सम्पन्न गरिनेछ ।’ –उहाँले भन्नुभयो ।
मुलुकभित्रका साथै अन्तर्राष्ट्रियरूपमा पानीजहाज सञ्चालनका लागि पूर्वाधार तथा कानुनी व्यवस्था गरिनेसमेत उहाँले जानकारी दिनुभयो । नेपालको आफ्नै ध्वजावाहक पानीजहाज भारतको आन्तरिक जलमार्गबाट समुद्रसम्म जान सक्ने गरी सञ्चालन गर्ने सरकारको तयारी रहेको उहाँले बताउनुभयो ।
सरकारले २०७५ फागुन २ गते ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गरिसकेको छ । सरकारले पानीजहाज चलाउने भनेपछि कागजको पानीजहाज बनाएर उडाइएको थियो ।सरकारले ऐनलाई संशोधन गरेर आन्तरिक तथा अन्तर्राष्ट्रियस्तरसम्म जहाज सञ्चालनका लागि बजेट वक्तव्यमा प्रमुखताका साथ राखिएको छ ।

















