पोखरा–सेतीवेणी–रिडी राजमार्गका लागि बजेट

7.46K
shares

पर्वत । नेपालकै पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडक लागि सरकारले बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट मन्तव्यमा पोखराबाट पामे–भदौरे–राम्जा–आर्थर–कार्किनेटा–लुङ्खु–त्रिवेणी–सेतीवेणी–रिडी सडकका लागि बजेट विनियोजन गरिएको बताउनुभएको छ ।

पोखराबाट उत्कृष्ट पर्यटकीय गन्तव्यमा परेका पर्वतका पञ्चासे, महाशीला, सेतीवेणी हुँदै रिडीसम्मको सडक राष्ट्रिय राजमार्गमा परेपछि डाँडैडाँडा सेतीवेणीबाट पोखरासम्म पक्की सडकमा पुग्ने पर्वतवासीको चाहनाले मूर्तरुप लिने भएको छ ।

अर्थमन्त्रीले यो सडकका लागि बजेट विनियोजन भएको बताएपछि बहुवर्षीय ठेक्कामार्फत सडक निर्माण हुनेछ । अहिलेसम्म सडकको पर्वत र कास्की खण्डको सबैजसो भागमा ट्र्याक ९मार्ग० खोल्ने काम भइसकेको छ ।

अब सडक कालोपत्र र विस्तार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रिडीबाट पोखरासम्म दुई प्रदेश जोड्ने राष्ट्रिय राजमार्ग निर्माणको काम गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको थियो ।

विसं २०७० को संविधानसभा निर्वाचनमा समेत अध्यक्ष तिमिल्सिना पर्वतबाट उम्मेदवार हुँदा उक्त सडक पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धतापत्र प्रकाशित गर्नुभएको थियो भने राष्ट्रियसभा अध्यक्ष भएपछि गृहजिल्ला आउँदा यो सडक राष्ट्रिय राजमार्गका रूपमा विकास गर्ने बताउँदै आउनुभएको थियो ।

डाँडैडाँडा सेतीवेणीबाट पोखरा जोड्ने सडक निर्माण गर्ने आफ्नो २० वर्ष पुरानो योजना भएको भन्दै तिमिल्सिनाले कालोपत्र सडकमा सरर सेतीवेणी पोखरा पु¥याउने योजनाले मूर्तरुप दिने वाचा जिल्लावासीलाई गर्नुभएको थियो ।

गुल्मीको रिडीबाट पर्वतको सेतीवेणी पोखरासम्मको सडक निर्माणका लागि राष्ट्रिय योजनामा गत वर्ष पनि परेको थियो । सेतीवेणीबाट पोखरासम्म डाँडैडाँडा सडक बनाउँदा पुल बनाउन नपर्ने र रिडी, शालिग्राम, महाशीला, डहरे, पञ्चासे र पोखराजस्ता धार्मिक र पर्यटकीय क्षेत्रसमेत पक्की सडक सञ्जालमा जोडिने भएकाले यसलाई पर्यटकीय सडकका रूपमा समेत विकास गर्न सकिनेछ । पर्वतको सुदूरदक्षिणबाट मध्यभाग हुँदै उत्तरपूर्वी क्षेत्र जोड्ने सडक पर्वतको मेरुदण्डसमेत बन्नेछ ।

यस वर्षको बजेटमा पोखरा रिडीसहित पर्वत भएर जाने मध्यपहाडी लोकमार्ग र उत्तरदक्षिण कालीगण्डकी करिडोरका लागि पनि बजेट विनियोजन भएको छ । कालीगण्डकी करिडोरको मालढुङ्गा बेनी सडकका लागि गत वर्ष नै बजेट विनियोजन भएको थियो । कालीगण्डकी करिडोरको सेतीवेणीबाट नयाँपुल खण्डसम्म स्तरोन्नतिको काम र कतै ट्र्याक खोल्ने कामसमेत भइरहेको छ ।