कोरोनाबाट मृत्यु भए २० लाख दिने घोषणा
वि.सं.२०७७ जेठ ३० शुक्रवार ११:०९
shares

काठमडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको कोरोनाका कारण ज्यान गएमा २० लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ। बर्दियाको बढैयाताल गाउँपालिकाले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि पालिकामा खटिने जनप्रतिनिधी र कर्मचारीको कोरोना भाइरसका कारण ज्यान गए २० लाख रुपैँया राहत उपलब्ध गराउने निर्णय गरेको हो।
बढैयाताल गाउँपालिकाले आफनो पालिकामा कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि निरन्तर अग्रपंतिमा रहि खटिएका पालिकाका जनप्रतिनिधी, पालिकाले खटाएका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक तथा पालिकाबाट खटाइएका अन्य व्यक्तिहरुको कोरोना भाइरस संक्रमणका कारण निधन भएमा राहत स्वरुप २० लाख रुपैँया प्रदान गरिने बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
यसैगरि आफ्नो पालिकाका स्थानिय बासीन्दाको कोरोना भाइरसको कारण ज्यान गएमा निजको परिवारलाई राहतस्वरुप ५ लाख रुपैँया उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले बताए। यसका साथै कोरोना संक्रमण भएका व्यक्तिहरुको सम्पूर्ण उपचार खर्च पनि पालिकाले ब्यर्होने बताइएको छ। बर्दियाको बढैयातालमा संक्रमण फैलिएको समयदेखि नै कर्मचारी, जनप्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी, स्थानिय युवालगायतले अग्रपंक्तिमा रहेर काम गर्दै आएका छन्।




























