नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक भोलि पारित गर्ने तयारी

8.18K
shares

काठमाडौं । प्रतिनिधि सभाबाट शनिबार नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको जानकारी दिए।

प्रतिनिधि सभाको बैठक शनिबार १ बजेका लागि डाकिएको छ। सरकारले नेपालको वास्तविक भू(भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ। जेठ २७ गते संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो।

सैद्धान्तिक छलफलमा ८४ सांसदले धारणा राखेका थिए। त्यसपछि सरकारले ल्याएको संशोधनमाथि सांसदहरूलाई संशोधन हाल्न ७२ घण्टाको समय दिइएको थियो।समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी छिन्।

गिरीलाई समाजवादी पार्टीका प्रमुख सचेतकले संशोधन फिर्ता लिन निर्देशन दिएका छन्। तर यो समाचार तयार पार्दासम्म उनले आफ्नो संशोधन फिर्ता लिएकी छैनन्।

संशोधन दर्ता गराउने समय आज राति साढे ८ बजेसम्म छ। संविधान संशोधन प्रतिनिधि सभामा सांसदहरूले दफाबार छलफल गर्नेछन्। छलफलपछि विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ।

संविधान संशोधनमाथि निर्णय गर्दा मत विभाजन हुनेछ। अर्थात् प्रतिनिधि सभामा सांसदहरूले संशोधनको पक्ष र विपक्षमा हस्ताक्षर गर्नुपर्नेछ। विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083