पर्वतको पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो

7.7K
shares

कुश्मा । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो ।

शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्रिय थिए । गण्डकी प्रदेश कार्यालय पोखराबाट तालिमप्राप्त कुकुर झिकाएर मंगलबार दिनभरसमेत खोजी गरिएको भए पनि आज बिहान स्थानीयवासीले फेला पारेको स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

पहिरोमा परी मृत्यु भएका तुलबहादुर थापाको परिवारका चार र कमला विकको परिवारका २ जनाको कालीगण्डकी र मोदी नदीको संगम रहेको धार्मिकस्थल मोदीवेणीमा सोमबारै सामूहिक अन्त्येष्टि गरिएको छ भने तुलबहादुरकी छोरी र नातिको बाग्लुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको छ ।

दुर्लुङमा शनिबार राति दुई घण्टासम्मको मुसलधारे वर्षापछि गएको पहिरोमा परेर ५३ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनाकुमारी, छोरी ३४ वर्षीया दीपा, नातिनी ११ वर्षीया विविशा, नातिहरु १५ वर्षीय सम्राट र १७ वर्षीय विवेक थापाको मृत्यु भएको थियो । यसैगरी पहिरोमा परेर २८ वर्षीया कमला विकका आठ वर्षीया छोरी प्रमिशा र १४ वर्षीय छोरा जेनिशको मृत्यु भएको छ ।

यसैबीच बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० दुर्लुङ गाउँ कमिटीको अगुवाइमा बालकको खोजी गर्दा घरभन्दा तल चौतारी नजिक शव भेटिएको नेकपाका नेता डोलराज शर्माले जानकारी दिए । गाउँ कमिटीको अगुवाइमा शव खोजी गर्ने क्रममा कमिटीका अध्यक्ष खड्गबहादुर गुरुङले शुरुमा देखेको शर्माले जानकारी दिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083