स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु
वि.सं.२०७७ असार १४ आइतवार ११:०३
shares

स्याङ्जा । गएराति जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो ।
गम्भीर घाइते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।श्रीमान्,श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो भने उनकी श्रीमतीलाई पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताए ।
छोराको अवस्था सामान्य छ । अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पुर्याउन नसकिएको स्थानीयले बताएका छन् । घटनास्थलमा अहिले प्रहरी टोली गएकाले घटनाको पूर्ण विवरण आउन केही समय लाग्ने स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कँडेलले जानकारी दिए ।


















