भरतपुर अस्पतालमा युवतीको मृत्यु:  कोरोनाको आशंकामा स्वाब परीक्षण हुदै

14.6K
shares

रासस । भरतपुर अस्पतालमा आज (शुक्रबार) बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ।

परीक्षणको नतिजा नआएसम्मको लागि युवतीको शव छुट्टै सुरक्षित राखिएको छ। परीक्षणका लागि उनको स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ।

अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो।

राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको हो। अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए।

युवतीको मृत्युको कारणबारे नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको उनले जानकारी दिए।

कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार सिन्धुलीको हरिहरपुर गाउँपालिका-२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो।

अस्पतालमा हरेक महिना विभिन्न कारणबाट ५० देखि ५५ जनाको मृत्यु हुने गरेको पौडेलले बताए। यद्यपि ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परीक्षण गर्न थालिएको छ। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083