नारायणकाजी श्रेष्ठले गरे एक वर्षको पारिश्रमिक राहत कोषमा दिने घोषणा

9.02K
shares

काठमाडौ ।सत्तारूढ नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा दिने घोषणा गरेका छन्।

राष्ट्रिय सभाको सदस्यको हैसियतका प्राप्त हुने एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको पारिश्रमिक भने विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने श्रेष्ठले बताएका छन्।

‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आआफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ,’ सोमबार ट्वीटमा श्रेष्ठले भनेका छन्, ‘यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक वर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गर्दछु।’

पदप्रतिष्ठा, सत्ताशक्ति र धनसम्पतिको क्षणिक सुखलाई सत्य, ठीक र न्यायको पक्षधरताबाट मिल्ने आनन्द भन्दा बढी महत्वको ठान्ने भ्रमले धेरैलाई लपेटेको श्रेष्ठले अर्को ट्वीटमा लेखेका छन्।

श्रेष्ठले यसअघि पनि सांसद विकास कोष आवश्यक नरहेको बताउँदै आएका छन्।

‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन अनुचित छ’, श्रेष्ठले दुई दिनअघि ट्वीटमा भनेका छन्, ‘अहिले कोभिड–१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम कोभिड–१९ कोषमा राखौं र अबदेखि यो शीर्षकमा बजेट नराखौं। यो सही छ। निर्णय गरिहालौं।’

‘त्यसले ब्यक्ति र समाजलाई हानि पुर्याइरहेको छ’, उनले भनेका छन्, ‘बुझौं, अन्ततः दोश्रोले नै समाज र मानवजातीलाई अगाडी बढाईरहेको छ, प्रगति र मुक्तिको दिशामा।’

नयाँ वर्ष २०७७ को अवसरमा ‘गति र आनन्दमय दीर्घजीवनको हार्दिक शुभकामना’ भन्दै श्रेष्ठले लेखेका छन्, ‘हामी सबै मिलेर कोभिड–१९ माथि विजय प्राप्त गर्न र राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको सुदृढीकरण एवं सामाजिक न्याय सहितको समृद्धिको लक्ष हासिल गर्न सकौं।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083