प्रचण्डले उच्चस्तरीयसंयन्त्र बनाउने प्रस्ताव सचिवालय बैठकमा पुर्याएपछि, मच्चियो खैलाबैला
वि.सं.२०७७ वैशाख ८ सोमवार १३:४८
shares

काठमाडौ । कोरोना भाइरसविरुद्ध लड्न सर्वपक्षीय उच्चस्तरीय संयन्त्र बनाउने साझा पार्टीको प्रस्तावलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठकमा पुर्याएपछि सत्तारूढ दलमा ठूलै खैलाबैला मच्चियो । नेकपाका नेताहरू दुई खेमामा बाँडिए ।
नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्र आवश्यक नरहेको बताए । प्रचण्डले पनि आफूले सरकारलाई सहज होस् भनेर आफूले सुझाव मात्रै दिएको बताएपछि उच्चस्तरीय संयन्त्र गठनको विषय सेलाएको थियो ।
तर, आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘सर्वपक्षीय उच्चस्तरीय समिति’ गठन गर्न सरकारलाई सुझाव दिएपछि यो विषय फेरि ब्युँतिएको छ ।शशी श्रेष्ठ सभापति रहेको समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई लेखेको पत्रमा भनिएको छ- ‘कोभिड १९ बाट उत्पन्न विषम परिस्थितिको सामना गर्न रणनीतिक योजनाको निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन कार्यमा सहयोग र सहकार्यका लागि सरकारको पहल कदमीमा सबै राजनीतिक दल, जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरूको सहभागितामा सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गरी महामारीविरुद्धको महाअभियानमा क्रियाशील बनाउने ।’
राज्य व्यवस्था समितिले संघमा मात्रै नभएर प्रत्येक निर्वाचन क्षेत्रमा सर्वपक्षीय सहभागिता हुने गरी संघीय सांसदको नेतृत्वमा अनुगमन समिति गठन गरेर महामारीविरुद्धका गतिविधिको अनुगमन गर्न पनि सरकारलाई सुझाव दिएको छ ।
सबैको सहभागितामा विपत्तिको सामना गर्न सकियोस् भनेर सर्वपक्षीय उच्चस्तरीय समिति गठन गर्न सरकारलाई सुझाव दिएको समितिका सदस्यहरुले बताए ।































