नेकपा सचिवालय बैठक स्थगितपछि प्रचण्ड, नेपाल र गौतमबीच भेट

13.3K
shares

काठमाडौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले एमसिसीको एजेन्डामा अनुकूल निर्णय गर्ने अवस्था नदेखिएपछि अध्यक्ष केपी ओलीले केन्द्रीय सचिवालय बैठक स्थगित गराएको निष्कर्ष निकालेका छन् ।

प्रचण्डनिवास खुमलटारमा भएको भेटमा मंगलबार डाकिएको बैठक त्यही कारण स्थगित गराइएकाले अर्को बैठकका लागि दबाब दिनुपर्ने दुवै नेताले निष्कर्ष निकालेका हुन् ।

छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । ओली र प्रचण्डको आइतबारको सहमतिअनुसार अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे छलफलका लागि मंगलबार अपराह्न ४ बजे सचिवालय बैठक डाकिएको थियो । तर, अचानक बैठक स्थगितको सूचना आएपछि प्रचण्डले वरिष्ठ नेता नेपाल र गौतमसँग बेग्लै छलफल गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने मंगलबार सचिवालय बैठक बोलाइएको र स्थगित भएको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘प्रधानमन्त्रीज्यूको नियमित सेड्युलमा बैठक थिएन, त्यसैले तय भएको थियो कि थिएन भन्नेबारेमा जानकारी छैन,’ थापाले भने ।

अचानक बैठक स्थगित भएको सूचना अन्य स्रोतबाटै जानकारी पाएपछि आफूले प्रधानमन्त्री ओलीलाई टेलिफोनमार्फत जिज्ञाशा राखेको, तर संसदमा मन्त्रीहरूले बोल्ने क्रम बाँकी रहेको र संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबल हुने भएकाले व्यस्तताका कारण स्थगित गराएको जवाफ दिएको प्रचण्डले नेपाल र गौतमलाई जानकारी गराएका थिए । ओलीले कार्यव्यस्तताले स्थगित भए पनि पुनः परामर्शमा बैठक बस्न सकिने जवाफ दिएको प्रचण्डले नेताहरूलाई जानकारी गराएका थिए ।

तर, प्रचण्ड, नेपाल र गौतमले भने मंगलबारको भेटमा यसबीचका घटनाक्रम ‘सेयरिङ’ गर्दै प्रधानमन्त्री ओली एमसिसीबारे सकभर पार्टीमा छलफलै नगराई सीधै संसदमा कार्यसूचीमा प्रवेश गराएर स्वविवेकका आधारमा मतदानबाट टुंगो लगाउने पक्षमा रहेको आशंका गरेका छन् ।

आइतबार प्रचण्डसँगको परामर्शपछि बैठक तय भएलगत्तै प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए । ओलीले एमसिसी अनुमोदनको विषयमा सहयोग गर्न आग्रह गरे पनि गौतमले भने आफू जस्ताको तस्तै पारित हुनुपर्छ भन्ने पक्षमा नरहेको भन्दै यसअघि जस्तो अप्ठ्यारो परिस्थितिमा जस्तै सहयोग गर्ने अवस्थामा नरहेको प्रस्ट्याएका थिए ।

‘पार्टीद्वारा गठित कार्यदलले अध्ययन गरेर सुझाब दिइसकेपछि प्रतिवेदनले उठाएका विषयवस्तुमा छलफल हुनुप¥यो, मैले यसअघि धेरै अप्ठ्यारो परिस्थितिमा तपाईंलाई सहयोग गर्दै आएको छु, तर एमसिसी परिमार्जनविना अनुमोदन हुन सक्दैन भन्ने निष्कर्षमा पुगेको कारण यसपटक तपाईंले भनेअनुसार सहयोग गर्ने अवस्थामा छैन,’ गौतमले प्रधानमन्त्री ओलीलाई दिएको जवाफ उद्धृत गर्दै एक नेताले भने ।
गौतम पनि परिमार्जनकै पक्षमा देखिएपछि सचिवालयमा अनुकूल स्थिति नरहेको बुझाइमा ओली पुगेकै कारण बैठक स्थगित गराइएको नेताहरूले आशंका गरेका छन् । एमसिसीको एजेन्डामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन् ।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कार्यदलको प्रतिवेदनले उठाएका विषयमाथि अमेरिकी सरकार वा नेपालस्थित दूतावासको प्रस्टतासहितको औपचारिक जानकारी वा परिमार्जनविना संसदबाट अनुमोदन गर्न नहुने पक्षमा छन् । एमसिसीबारे नेकपाभित्र विभिन्न सोच र धारणाहरू आइरहेका वेला प्रचण्ड र नेपालले ‘मध्यमार्गी’ बाटोबाट अघि बढ्न सकिने विषयमा अनौपचारिक तहमा गृहकार्यसमेत गर्दै आइरहेका छन् ।

१६ असारभित्रै संसदबाट अनुमोदन गरिसक्नुपर्ने भएकाले नेकपाभित्र एमसिसीको एजेन्डा पेचिलो बन्दै गएको छ । गत १७ जेठमा बसेको सचिवालय बैठक तत्कालका लागि एमसिए नेपालको नेपालमा भइरहेको गतिविधि स्थगित गराउने निर्णय गर्दै आर्थिक वर्षको बजेटमा परेको एमसिसीको पाँच अर्ब ७२ करोडको बजेट पार्टी निर्णय र संसद्ले गर्ने निर्णयबमोजिम हुने समझदारीसहित सकिएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083