कट्टु सानो सिलाइदिएपछि प्रहरीमा उजुरी
वि.सं.२०७७ साउन ३ शनिवार १५:२०
shares

File photo
काठमाडाैं । पसलेले खराब सामान दिएको र त्यस्तो सामान फिर्ता लिन नमानेको जस्ता गुनासाहरु ग्राहकहरुले गर्ने गर्दछन्। तर कट्टु सानो सिलाइदिएको भन्दै सूचिकारविरुद्ध प्रहरीमा उजुरी दिएको चाहिँ अहिलेसम्म सुनिएको थिएन।
भारतमा हालै एकजना व्यक्तिले आफ्नो कट्टु सानो सिलाइदिएको भन्दै एक जनाले कट्टु सिलाउने व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिएका छन्।
भारतको भोपालस्थित हबिबगञ्जका कृष्ण कुमार दुबेले एकजना छिमेकी सूचिकारलाई दुई मिटर कपडा दिँदै आफ्नो लागि कट्टु सिलाइदिन लगाएका थिए।
सूचिकारले कृष्णकुमारका लागि कट्टु त सिलाइदिए तर कट्टुको साइज कृष्णलाई सानो भयो। कट्टु सानो भएको भन्दै त्यसको धागो उधारेर केही खुकुलो बनाइदिन उनले सूचिकारसँग आग्रह गरे। तर सूचिकारले उनको आग्रह अस्विकार गरे।
दुई मिटर कपडा दिँदासमेत आफूलाई अट्ने कट्टु नसिलाइदिएको झोँकमा कृष्णले ती सूचिकारविरुद्ध प्रहरीमा उजुरी हाले।
प्रहरीमा दिएको लिखित उजुरीमा उनले सूचिकारविरुद्ध कानूनी कारवाही गर्न माग गरेका छन्।
त्यो अनौठो उजुरी देखेर पुलिस पनि छक्क पर्यो। एकछिनको विचार विमर्शपछि पुलिसले त्यस्तो उजुरी दर्ता गर्न नसकिने भन्दै सूचिकारबाट क्षतिपूर्ति चाहिएमा अदालतमा मुद्दा हाल्नका लागि कृष्णकुमारलाई सल्लाह दिएको बताइएको छ।
प्रहरीको त्यस्तो सल्लाहपछि ती व्यक्ति सूचिकारविरुद्ध अदालतमा गए वा गएनन् भन्नेचाहिँ खुलेको छैन। एजेन्सी














