जिल्लाका सुकुम्बासीको घरमा निकुञ्जले आगो लगाउँदा भूमि आयोगका अध्यक्ष मौन

8.85K
shares

चितवन राष्ट्रिय निकुञ्जले माडी नगरपालिका–९ कुुसुमखोलास्थित सुकुमबासी बस्तीमा रहेका चेपाङ समुदायका घर शनिबार हात्ती लगाएर भत्काएको छ ।

आठ घर भत्काएको र दुई घरमा आगजनीसमेत गरेको पीडितहरूले बताएका छन् ।

चेपाङ समुदाय कुुसुमखोला क्षेत्रमा ०५३ देखि बस्दै आएका थिए ।

सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा देवी ज्ञवालीलाई नियुक्त गरेको लामो समय भयो।

मन्त्रीपरिषद् बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रिय सदस्य चितवन निवासी ज्ञवालीलाई नियुक्त गरेको थियो।

भूमिहिन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अधिकारसमेत दिएर नियुक्त गरिएका ज्ञवाली १५ औं आयोगको अध्यक्ष हुन्। यसअघि २०४६ सालयता बनेका सरकारले १४ वटा आयोग गठन गरिसकेका छन् । आफ्नै जिल्लामा भूमिहीन सुकुम्बासीको घर जलाउदा समेत उनी मौन छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार बनेका थिए। उनी तत्कालीन एकीकृत माओवादी र कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालसँग पराजित भएका थिए।

बर्खाको समयमा निकुञ्जले आफूहरूको बिचल्ली बनाएको भन्दै पीडितहरूले आइतबार वडा कार्यालयमा गुनासो गरेका छन् ।

उनीहरू तीन घन्टा हिँडेर वडा कार्यालय पुगेका हुन् । चेपाङ बस्ती माडी सदरमुकाम वसन्तपुर बजारबाट २२ किलोमिटर टाढा छ ।

निकुञ्ज प्रशासनले बस्तीका अन्य परिवारलाई पनि एक हप्ताभित्र घर छोडेर जान धम्की दिएको माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीले बताए ।

माडी नगरपालिकाका अनुसार धादिङ, मकवानपुरलगायत जिल्लाबाट आएका एक सय ६० परिवार त्यहाँ बसेका थिए । ०७४ मा डुबानमा परेपछि अधिकांश परिवार बस्ती छोडेर माडीकै विभिन्न ठाउँमा बसाइँ सरेका थिए ।

निकुञ्जले भने मध्यवर्ती क्षेत्रमा अतिक्रमण गरी बनाइएका छाप्राहरू मात्र हटाएको बताएको छ । मान्छे बसेका घरहरूमा कुनै असर नपु-याएको वार्डेन नारायण रुपाखेतीको जिकिर छ ।

‘यो बर्खामा कसैले मानिस बसेको घर भत्काउँछ ? कुसुमखोलाको अतिक्रमित टहरा भत्काइएको हो, हामीले पहिलेदेखि नै हटाउन भन्दै आएका थियौँ,’ उनले भने ।