साताभरकाे चर्चित भाइरल तस्बिर : सव-इन्जिनियर महिला कर्मचारी तनावमा

10.06K
shares

काठमाडौं । पछिल्लो समयमा सामाजिक सञ्जालमा धरै घटनाहरु चर्चामा आउने गरेका छन् चाहे त्यो राम्रो तरिकाले होस् या चाहे नराम्रो तरिकाले होस् बेलाबेलामा सामाजीक सञ्जाल तताइरहेका हुन्छन् ।

याे पनि….
साताभर चर्चित तस्बिरको बाईक सवार दुवै जना सरकारी इन्जिनियर

अहिले पछिल्लो समयमा सामाजिक सञ्जालमा एकदमै चर्चा भइरहेको अथवा भाईरल बनेको यो तस्वीरको यथार्थ खुलेको छ ।

सामाजिक सञ्जालमा सो तस्वीर भाइरल बन्नुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन नै हो। यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन । तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए ।

सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन् । जसको विषयमा सामाजिक संञ्जालमा चर्चा हुनु आफैमा स्वाभाविक हो ।

यातायात ब्यावस्था विभागका अनुसार प्रदेश-३-०२-००१ब-१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिका को हो । गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार (स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको छ । सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् । सरकारी सेवामा गरेको र सिट्रोल ( सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर ) भर्न धादिङबाट काठमाडौं मोटरसाइकलमा सँगै हिँडेका थिए ।

सरकारी नम्बरको मोटरसाईकल चालक प्रताप बराल गल्छी गाँउपालिकामा कार्यरत ईन्जिनियर हुन् । उक्त मोटरसाईकलमा सवार युवती पनि सोहि गाँउपालीकामा कार्यरत सव-इन्जिनियर सविता शाही हुन् । उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए ।

बबरमहलस्थित निजामति किताबखानातर्फ जाने क्रममा कसैले पछाडिबाट तस्वीर खिचेको थियो ।

तस्वीर कसले खिचेको हो भन्ने खुलेको छैन । तर, यसलाई भाइरल गराउने काम चाहिँ पूर्वसचिव भीम उपाध्यायले गरेका थिए । एक लाखभन्दा बढी फलोअर्स भएका उपाध्यायले ‘सरकारी मोटरसाइकलको दृश्य’ भन्दै तस्वीर पोष्ट गरेको केहीबेरमै फेसबुकभरि फैलिएको थियो ।

यस बिषयमा कुराकानीमा पूर्वसचिव उपाध्यायले आफूलाई एकजना साथीबाट इनबक्समा सो तस्वीर प्राप्त भएको बताए ।

‘मलाई चिनेको साथीले फोटो पठाउनुभयो । सरकारी मोटरसाइकलमा त्यस्तो लुगा लगाएर हिँडेको देख्दा अलि अनौठो लागेर पोष्ट गरेको थिएँ । एकैछिनमा भाइरल भयो,’ उनले भने ।

केहीबेरमा उपाध्यायलाई सम्वन्धित व्यक्तिले फोन गरेर तस्वीर हटाउन आग्रह गरेपछि उनले हटाए ।

‘सुरुमा मलाई सरकारी कर्मचारीले गर्लफ्रेन्ड लिएर हिँडेको होला भन्ने अनुमान थियो । तर, दुवैजना सरकारी कर्मचारी नै भएको थाहा भएपछि मैले केहीबेरमै त्यो तस्वीर हटाएको हो । तर, धेरैले मेरो फेसबुकको स्क्रिनसट गर्न भ्याइसकेछन्,’ उपाध्यायले हाँस्दै भने ।

तस्वीर भाइरल भएपछि महिला कर्मचारी आहत बनेकी छन् । उनले तस्वीर कसले र कहाँ खिचेको हो भन्ने थाहा नभएको बताइन् । ‘म कार्यालयबाट विदा लिएर काठमाडौंमा थिएँ । मेरा सहकर्मी पनि काठमाडौं आउनुभएको थियो । हामी सिटरोल लिनका लागि निजामति किताबखानामा सँगै गएका थियौं,’ उनले भनिन् ।

घरबाट घुम्न जाने हिसाबले निस्केको भएर पोशाकमा ध्यान नपुगेको उनले बताइन् । सामाजिक सञ्जालमा तस्वीर देख्दा अचम्मित र दुखित बनेको उनको भनाइ छ । ‘तस्वीरमाथि यति धेरै विवाद गरिनु आवश्यक थिएन होला । यसले मलाई निकै मानसिक तनाव भएको छ । मेरो परिवारलाई पनि अप्ठेरो भएको छ । सोच्दै नसोचेको कुरा भयो,’ उनले भनिन् ।

आइतबार काममा फर्कने गरी काठमाडौं आएकी उनी यही तनावले गर्दा अहिले पनि काठमाडौंमै छिन् ।

गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले उनीहरु दुवै बैरनीबाट काठमाडौं सँगै आएको बताए । ‘मैले बुझ्दा उनीहरु बैरेनीबाट एकसाथ काठमाडौं आएका हुन् । लकडाउनमा पनि दिनरात खटिएर उनीहरुले ३० गते आफ्नो काम सबै सिध्याएका थिए । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर आइतबार फर्किने गरी विदामा आएका हुन्,’ अध्यक्ष श्रेष्ठले भने ।

महिला कर्मचारीको पोशाक चाहिँ आफूलाई पनि चित्त नबुझेको उनले बताए । ‘मलाई साथीहरुले फोटो देखाए । पोशाकचाहिँ अलि नमिलेकै हो । पछाडि ढाड तलसम्म देखिएको छ’ अध्यक्ष श्रेष्ठले भने, सरकारी कर्मचारीले सरकारी सवारी साधनमा यात्रा गर्दा यस्तो पोशाक लगाउन हुँदैनथ्यो ।’

यस विषयमा आफूले प्रमुख प्रशासकीय अधिकृतसँग सोधपुछ गरेको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘मैले दुवै इन्जिनियरसँग लिखित स्पष्टीकरण पनि माग्ने विचार गरेको छु ।’

महिला कर्मचारीले लगाएको पोशाकका सम्बन्धमा सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रियाहरु आएको सन्दर्भमा हामीले वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई सोध्यौं, ‘सरकारी मोटरसाइकलमा चढेकी महिलाको पोशाकबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको छ, यसलाई तपाई कसरी लिनुहुन्छ ?’

जवाफमा शर्माले भनिन्, ‘कर्मचारी वा सार्वजनिक जिम्मेवारीमा रहेका मानिसहरुको पोशाक मर्यादित हुनुपर्छ । पब्लिक व्यक्ति भइसकेपछि ड्रेसअपमा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।’

तर, ती महिलाले गरेको एउटा कमजोरीलाई लिएर सामाजिक सञ्जालमा उनीमाथि धेरै आक्रमण गर्दा तनाव बढ्न सक्ने कुरामा शर्माको स्वीकारोक्ति छ । यस्तो विषयमा सम्वेदनशीलता अपनाउन शर्माले सामाजिक सञ्जालका प्रयोगकर्तालाई सुझाव दिइन् ।

उनले भनिन्, ‘सामाजिक सञ्जालमा अहिले उनीमाथि धेरै नै एट्याक भएको छ, कम्तिमा फोटो खिच्नु अगाडि एकचोटि उनीसँग सहमतिचाहिँ लिनुपर्थ्यो । तर, पनि पब्लिक व्यक्तिले ड्रेसअपमा चाहिँ ध्यान दिनैपर्छ भन्ने मलाई लाग्छ ।’ नागरिक टाईम्स / अनलाइनखबरबाट साभार गरिएकाे हाे ।