आजबाट मापसे जाँच पुनः शुरु
वि.सं.२०७७ साउन ७ बुधवार १५:४३
shares

काठमाडौं । के तपाई आजसम्म ट्राफिक प्रहरीले मापसे चेक गर्दैन भन्दै मादक पदार्थ सेवन गरी यातयाताका साधन चलाइरहनु त भएको छैन नि ? त्यो हो भने आजदेखि सतर्क रहनुस् । किनकी ट्राफिक प्रहरीले आजदेखि कडाईका साथ मापसे चेकिङ गर्ने भएको छ ।
गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेयता जतिसुकै मादक पदार्थ सेवन गरे हिडे पनि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्न छाडेको थियो । तर सरकारले आजदेखि लकडाउन पूर्णरुपमा हटाएसँगै ट्राफिक प्रहरीले आजदेखि नै मापसे चेकिङ गर्ने तयारी थालेको हो ।
‘लकडाउन अवधिमा होटल, रेस्टुरेन्टमा टेक वे र होम डेलिभरी मात्र सञ्चालनमा आएको थियो । अहिले सबै प्रकार्का व्यवसायी सामाजिक दूरी अपनाएर सञ्चालन गर्ने भनेपछि हामीले ट्राफिक प्रहरीले मापसे चेकिङ कडाइका साथ गर्न लागेको हो ।
ट्राफिक प्रहरीले मापसे गरेर सवारी साधन चलाएको शंका लाग्नासाथ नजिकैको मेडिकल तथा अस्पतालमा लगेर परीक्षण गराउने छ । कोभिड–१९ को संक्रमण सुरु भएसँगै ट्राफिक प्रहरीले जोखिम बढ्ने भन्दै मापसे चेकिङ बन्द गरेको थियो ।
लकडाउन सुरु भएपछि महाशाखाले ट्राफिक नियम उल्लघंन गरेबापत गरिने आर्थिक कारबाही पनि बन्द गरेको थियो । लेन मिच्ने, एकतर्फी बाटोमा सवारी साधन चलाउने, नो पार्किङमा पार्क गर्ने, ओभर स्पिडमा गुडाउने, सवारी साधनको स्वरुप बिगारेर चलाउनेहरुमाथि बुधबारदेखि कारबाही सुरु गरेको महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए ।
सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पन्जासहित मास्क पनि लगाउनुपर्ने, सिटको आधा मात्रै यात्रु चढाउनु पर्ने, सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने र तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने जस्ता व्यवस्थालाई दुरूस्त पालना गराउनका लागि ४५ वटै ट्राफिक कार्यालयलाई निर्देशन दिएको महाशाखाले जनाएको छ ।
महाशाखाले सार्वजनिक यातायातको अनुगमन गर्न महिला ट्राफिक प्रहरीको टोली परिचालन गरेको जनाएको छ । उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेरनगरेको, ५० प्रतिशत मात्र यात्रु राखेरनराखेको अनुगमन गर्ने र कारबाही गर्नेछ ।






























